काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत समूह बी का बलिया टिम रियल मड्रिड र इन्टरमिलान क्रमशः पुछारमा र तेस्रो स्थानमा छन्।
यी दुई टिमले आज मंगलबार राति रियल मड्रिडको मैदान अल्फ्रेदो डि स्टेफानो रंगशालामा खेल्नेछन्। आजको खेलबाट दुवै टिम जित निकाल्दै समूहमा राम्रो पकड बनाउन चाहन्छन्।
गत सिजन बार्सिलोनाबाट ला लिगा खेलेका आर्थुरो भिडालले रियल विरुद्धको खेल जित्ने दाबी गरेका छन्। उनी यो सिजनको सुरुमा मात्र इन्टरमिलान पुगेका हुन्। उनले रियललाई हराउँदै बार्सिलोना र इन्टरमिलानका समर्थकसँग उत्सव मनाउने समेत बताए।
‘यो राम्रो खेल हुनेछ,’ उनले खेलअघि भने, ‘मैले बार्सिलोनामा दुई वर्ष बिताएँ। त्यसैले मलाई आशा छ हामीले इन्टर बार्सिलोनाको समर्थकको मायाका साथ खेल जित्नेछौं।’
उनले आजको खेलमा जित निकाल्दै तीन अंक आफ्नो पक्षमा पार्ने बताएका छन्। चार टिमको समूहमा रहेका यी दुई टिममध्ये रियलले एक हार र एक बराबरी खेल्दै १ अंक बनाएको छ भने इन्टरले दुई बराबरी खल्दै २ अंक बटुलेको छ।
भिडाल २०१७ र २०१८ मा बायर्नमा रहँदा च्याम्पियन्स लिगको दुवै खेलमा रियलसँग पराजित भएका थिए। यता गत सिजनमा बार्सिलोनामा रहँदा भने बायर्नसँग ८–२ गोलले पराजित भए।
उनले बायर्नमा रहँदा रियलसँगको खेल उत्साहप्रद नभए पनि गत सिजनको च्याम्पियन्स लिगमा बायर्नले उपाधि जित्दा खुसी लागेको बताए।
त्यस्तै, रियलका प्रशिक्षक जिनेदिन जिदानेले कुनै हालतमा स्पेनिस क्लबले नै जित निकाल्ने दाबी गरेका छन्। रियललाई लगातार तीन पटक लिग उपाधि दिलाएका जिदानेले आजको खेलमा पनि जित निकाल्दै तीन अंक थप्ने बताए।
रियल सम्मिलित समूहमा कमजोर मानिएका शख्तर डोनेटेस्कले एक जित र एक बराबरी खेल्दै ४ अंक बनाएर शीर्षस्थनमा छ भने मोन्छेनग्लाडबाख २ अंकका साथ दोस्रो स्थानमा छ।
रियल मड्रिडका लागि पछिल्ला खेल फाइनलजस्तै बन्दै गएको रियलका प्रशिक्षक जिदानेको ठहर छ। उसले घरेलु लिग र च्याम्पियन्स लिगका सुरुका खेलमा राम्रो प्रदर्शन गर्न नसकेकाले यस्तो भएको हो।
अब रियललाई नकआउट स्टेजमा पुग्नका लागि जित निकाल्नैपर्ने छ। ६ खेल हुने समूह चरणको खेलमा २ खेल सम्पन्न भएका छन् भने चार खेल बाँकी छन्। यस्तो अवस्थामा रियललाई तेस्रो खेल जित्नुपर्ने बाध्यता छ।
‘हामीले प्रतिस्पर्धीलाई राम्रोसँग चिनेका छौं,’ जिदानेले पत्रकार सम्मेलनमा भने, ‘उनीहरु फिजिकल्ली धेरै राम्रा छन् र राम्रो खेल्छन्। यो हाम्रा लागि अर्को अप्ठ्यारो हो। यो फाइनल जत्तिकै छ।’
लुकाकुले गुमाउनेछन् आजको खेल
थाइको चोटका कारण इन्टरका स्ट्राइकर रोमेलु लुकाकुले आजको खेल गुमाउने भएका छन्। २७ वर्षे बेल्जियन फरवार्डले जारी सिजनमा ६ खेलबाट ७ गोल गरिसकेका छन्।
पछिल्लो खेलमा इन्टरले मोन्छेनग्लाडबाखविरुद्ध २–२ गोलको बराबरी खेलेर १ अंक बटुल्दा दुवै गोल लुकाकुले नै गरेका थिए। यसकारण उनको अनुपस्थितिले इन्टरलाई घाटा लाग्नेछ।
त्यस्तै, तीन खेलमा नदेखिएका एलेक्स सान्चेज मैदान फर्किएका छन्। तर प्रशिक्षक एन्टोनी कोन्टेले उनलाई पहिलो रोजाइका खेलाडीका साथ मैदान उतार्न सम्भव नभएको बताउँछन्।
यता रियलका २२ वर्षे भरपर्दा डिफेन्डर कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्। त्यस्तै चोटका कारण नाचो, डानी कार्भान्जल, र युवा खेलाडी मार्टिन ओडेगार्ड पनि खेलमा देखिने छैनन्।
यसकारण समूहको पुछारमा रहेको टिमका लागि आजको खेल चुनौतीपूर्ण छ। यी दुई टिमबीच आज राति पौने २ बजे खेल हुँदैछ।