काठमाडौं- आईपीएल २०२० मा मुम्बई इन्डियन्सले एक पटक फेरि आफूलाई च्याम्पियन सावित गरेको छ। दिल्ली क्यापिटल्सलाई हराएर मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको हो।
टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले सात विकेटमा १५६ रन बनायो। यो लक्ष्यलाई मुम्बई इन्डियन्सले १८.४ ओभरमा पार ग¥यो।
मुम्बईले कप्तान रोहित शर्माको ६८ रनको मद्दतबाट दिल्लीलाई पाँच विकेटले हराएर ट्रफी हात पारेको हो।
दिल्लीको सुरुआती विकेट चाँडै गयो
ट्रेन्ट बोल्टले पहिलो बलमै मार्कस स्टोइनिसलाई आउट गरे। त्यसपछि बोल्टले अजिंक्य रहाणेलाई १६ रनमा पेभेलियनतर्फ पठाए। यो सिजनको पहिलो म्याच खेलिरहेको जयन्त यादवले फर्ममा रहेका बायाँ हाते ब्याट्सम्यान शिखर धवनलाई आफ्नो तेस्रो बलम बोल्ड गरे । धवनले १५ रन मात्र बनाएका थिए।
श्रेयर र पन्तले सम्हाले इनिङ
चार ओभर नसक्किंदै दिल्लीले तीन मुख्य विकेट गुमाइसकेको थियो। मैदानमा रहेका कप्तान अय्यरलाई आफ्नो टिमलाई बचाउने दबाव थियो। उनले आफ्नो जिम्मेवारी निर्वाहको प्रयास गरे जसमा युवा ऋषभ पन्तले पनि राम्रै साथ दिए।
अप्ठ्यारो परिस्थितिमा विकेटमा टिकेर दुबैले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे। यसक्रममा पन्तले यो सिजनको पहिलो अर्धशतक बनाए। १५ औं ओभरको तेस्रो बलमा चौका हानेर पन्तले ५० रन पूरा गरेका थिए। यसै ओभरमा नाथन कुल्टर नाइलले पन्तको इनिङको अन्त्य गरे। पन्तले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए।
पन्तपछि अय्यरले पनि अर्धशतक पूरा गरे। टिमलाई बलियो स्कोरमा पुर्याउनका लागि अय्यरलाई अन्तिमतिरको आभेरमा तिब्र रन बनाउने बलरको आवश्यकता थियो। यो काम शिमरन हेटमायरले गर्न सक्थे तर बोल्टले उनलाई व्यक्तिगत पाँच रनमै आउट गरिदिए।
अक्षर पटेलले पनि ९ रन मात्र बनाउन सके। अय्यर भने अन्तिमसम्म टिकेर टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। ५० बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हानेका थिए।
रोहितको ब्याट चल्दा मुम्बईलाई सजिलो
१५७ रनको लक्ष्य पाएको मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए। उनी बाहेक क्विन्टन डिकोकले १२ बलमा २० रन, सूर्यकुमार यादवले २० बलमा १९ रन बनाए। पोलार्ड ९ रन बनाएर आउट भए।
अन्तमा ईशान किशनले ३३ र पाण्ड्याले ३ रन बनाएर टिमलाई पाँचौ पटक च्यम्पियन बनाए।
मुम्बईका लागि बोल्टले तीन, नाइलले दुई, जयन्तले एक विकेट लिएका थिए। जसप्रित बुमराहले एक विकेट पनि लिन सकेनन्।