काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको किमाथाङ्का प्रस्थान गरेका छन्। बिहान साढे ९ बजे प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।
गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक उपत्यका बाहिर निस्किएका हुन्।
प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले किमाथाङ्कामा प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी हुने जानकारी दिए।
पार्टीभित्र विवाद जारी रहेकै बेला प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका हुन्।
‘नेपाल–चीन सीमामा राखिएको सशस्त्र प्रहरी बलको पोष्ट र त्यहाँको सुरक्षा अवस्थाको निरीक्षण गर्नुहुन्छ’, उनले भने, ‘अरुण तेस्रो जलविद्युत आयोजनाको अवस्थाका बारेमा पनि जानकारी लिने कार्यक्रम छ।’
प्रधानमन्त्रीले त्यहाँ स्थानीय जनप्रतिनिधिहरुसँग विकास निर्माणका बारेमा पनि जानकारी लिने कार्यक्रम छ। उनका अनुसार वहालवाला प्रधानमन्त्री सो क्षेत्रमा गएको यो पहिलो पटक हो।
संचारविज्ञ बजगाईका अनुसार प्रधानमन्त्रीसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ग, संखुवासभाबाट प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र गौतम, राष्ट्रिय सभाका सांसद प्रर्शुराम नेगी गुरुङलगायत सहभागी छन्।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले प्रधानमन्त्री विभिन्न तीनवटा कार्यक्रममा सहभागी हुने जानकारी दिए।
किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण गर्ने, स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्ने, च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने र अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने कार्यक्रम छ।
उनले प्रधानमन्त्रीके यो अनुगमन भ्रमण भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओली विभिन्न कार्यक्रम सकेर दिउँसो साढे ३ बजे काठमाडौं फर्कने कार्यक्रमछ।