नवलपरासी– महेन्द्र राजमार्गको बीच भागमा पर्ने दुम्कीबास–दाउन्ने सडक खण्डहर बन्दा हजारौं नागरिक मारमा परेका छन्।
पूर्वी नवलपरासीको दुम्कीबासदेखि दाउन्ने बजारसम्म सडक जीर्ण बन्दा धुलोले दिउँसै सडक अन्धकार बन्छ। दाउन्नेको जंगलसमेत ढपक्क धुलोले ढाकेको देखिन्छ।
धुलोले राजमार्ग भएर यात्रा गर्नेलाई मात्रै होइन– दाउन्ने बजार, दुम्कीबासदेखि चोरमारासम्मका स्थानीयलाई समेत सास्ती दिएको छ।
दाउन्ने बजारदेखि दुम्कीबाससम्मको करिब ६ किलोमिटर सडक सबैभन्दा बढी खण्डहर बनेको छ। बर्दघाट–दाउन्नेको अवस्था पनि खराब छ।
यसअघि सडक नियमित मर्मत–सम्भार हुँदै आए पनि पछिल्लो दुई वर्षदेखि मर्मत गरिएको छैन। धेरै स्थानमा बर्खामा गएको पहिरो राम्रोसँग हटाइएको छैन।
सर्दीमा रहेको होङ्सी सिमेन्ट उद्योगका लागि प्रसारण लाइन निर्माण गर्दा खनिएको सहायक सडकले पनि महेन्द्र राजमार्गलाई खण्डहर बनाएको छ। कच्ची सहायक मार्गबाट बगेको हिलो, धुलो र त्यही बाटो भएर राजमार्गमा चल्ने टिप्परले सडकलाई थप खण्डहर बनाएको छ।
सडकमा कालोपत्रे कतै देखिँदैन। धुलाम्मे सडकमा साना सवारीसाधनदेखि दैनिक हजारौं ट्रक–टिप्पर गुड्ने गर्छन्। जीर्ण सडकले दुर्घटनाको जोखिमसमेत बढाएको छ।
डिभिजन सडक कार्यालय पूर्वी नवलपरासीका इन्जिनियर कृष्णप्रसाद आचार्य नारायणघाट–बुटवल सडक विस्तारको क्रममा रहेकोले मर्मत गर्न ढिलाइ भएको बताउँछन्। ‘सडक विस्तारको काम भएकोले नियमित मर्मत गर्न नपाइएको हो,’ उनले भने, ‘त्यसमा लकडाउन र कोरोना प्रभावले पनि समयमा काम हुन सकेन।’
दुई लेनमा रहेको राजमार्ग चार लेनमा स्तरोन्नति गर्न दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भइसकेको छ।
सडक स्तरोन्नतिको सम्झौता अवधिसम्म मर्मत गर्ने तथा पानी हालेर धुलो उड्न नदिने जिम्मा निर्माण कम्पनीको हो। तर, यसमा कम्पनीले लापरवाही गरेको पाइएको छ।
११५ किलोमिटर सडक स्तरोन्नतिको लागि १७ अर्ब रुपैयाँ ठेक्का सम्झौता भएको हो। यसमा एसियाली विकास बैंकले ८५ प्रतिशत ऋण उपलब्ध गराउने छ। एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण लगानी गरेको हो।
तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि दुई वर्षमा १५ प्रतिशतमात्रै काम भएको छ।