शुक्रबार, जेठ ३, २०८२

घरमै असुरक्षित छन् महिला

महिलामाथि सबैभन्दा बढी हिंसाका घटना अफ्रिका र अमेरिकामा हुने गरेका छन्। यी देशका महिला आफ्ना साथी र परिवारका सदस्यबाट मारिने जोखिम निकै हुन्छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

नाइजेरिया र दक्षिण अफ्रिका जस्ता देशमा बलात्कारका घटना बढेका छन्। पेरुमा बेपत्ता हुने महिलाको संख्या बढेको छ। ब्राजिल र मेक्सिकोमा महिला हत्याको दर तीव्र छ। 

यति मात्र होइन, कोरोना भाइरस महामारीका कारण यौन हिंसाका घटनामा पनि कमी आएको छैन। संयुक्त राष्ट्रसंघको आँकडाअनुसार लकडाउनका क्रममा अर्जेन्टिनामा २५ प्रतिशत, साइप्रस र फ्रान्समा ३० प्रतिशत र सिंगापुरमा ३३ प्रतिशत घरेलु हिंसाका घटनामा बढोत्तरी भएको छ। 

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि सबै देशले महिला र बालबालिकालाई घरभित्रै सीमित बनाएका छन्। मोरक्को एसोसिएसनले भनेको छ, 'महिलाका लागि घर सबैभन्दा खतरनाक क्षेत्र बनेको छ।'

भारतमा ३३ वर्षीया हिना (नाम परिवर्तन) लाई घरभित्रको जीवन निकै कठोर बन्न पुग्यो। लकडाउनका बेला उनका पति सधैं घरमा बसे। लागू पदार्थ सेवन गरे अनि हिनामाथि हिंसा गरे।

कुराकानीका क्रममा हिना निकै बेर रोइन्। उनले समाचार एजेन्सी एएफपीसँग भनिन्, 'मेरा पनि लागू पदार्थ सेवन गरी दिनभर मोबाइलमा गेम खेल्थे। अनि मलाई दुव्र्यवहार गर्थे र निर्घात कुटपिट गर्थे।'

१५ अगस्टको बिहानै पतिले हिनालाई कुटपिट गरे र घरबाट निकालिदिए। सात वर्षको छोराका अगाडि उनले कुटाइ खाएकी थिइन्। उनले भनिन्, मसँग कतै जाने ठाउँ थिएन। उनले मलाई बेस्सरी कुटे। म मुुस्किलले बचें।

हिना अहिले आफ्नो बच्चा आफूसँगै राख्नुपर्ने माग गर्दै अदालत धाइरहेकी छन्। उनी भन्छिन्, 'कोरोना भाइरसका कारण अदालतले पनि पूरा क्षमताका साथ काम गरिरहेको छैन।'  उनले विगत चार महिनादेखि छोरालाई भेट्न पाएकी छैनन्।

ब्राजिलमा वर्षको सुरुको ६ महिनामा ६४८ महिलाको हत्या भएको छ। सार्वजनिक सुरक्षाका लागि ब्राजिलियन फोरमका अनुसार यो सन् २०१९ को भन्दा केही बढी हो। सरकारले महिलामाथि हुने हिंसाविरुद्ध उजुरी दर्ता गर्न सुरु गरे पनि पर्याप्त नरहेको फोरमको भनाइ छ।

संयुक्त राष्ट्रसंघका अनुसार आठमध्ये एक देशले मात्र महिला तथा बालबालिकालाई कोरोना महामारीको असरबाट जोगाउने उपाय अवलम्बन गरी काम गरिरहेका छन्। जस्तो कि स्पेनमा पीडित महिलाले मास्क १९ कोड शब्द प्रयोग गरेर मेडिकलहरुसँग सहयोग माग्ने व्यवस्था गरिएको छ।

हरेक वर्ष २५ नोभेम्बरमा महिला विरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै आएको छ। तर यसपल्ट कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धले कयौं देशमा कार्यक्रम हुन सकेका छैनन्।

नातेदारबाटै खतरा

महिला विरुद्ध हुने हिंसा उन्मूलन दिवसका अवसरमा संयुक्त राष्ट्रसंघीय लागू औषध एवम् अपराध कार्यालय (यूएनओडीसी) ले जारी गरेको तथ्यांकअनुसार २०१७ मा ८७ हजार महिलाको हत्या भएको थियो।

तिनमा ५० हजार महिला जीवन साथी, नजिकका नातेदार र परिवारका सदस्यबाट मारिएका थिए। ३० हजार अर्थात् ३४ प्रतिशत महिलाको हत्या जीवन साथीबाट भएको थियो। 

तथ्यांकअनुसार हरेक घण्टा करिब ६ जना महिला चिनेजानेका व्यक्तिबाट मारिन्छन्। संसारमा नरहत्याबाट पीडित हुनेमा ८० प्रतिशत पुरुष छन्। तर महिलाले असमानता, भेदभाव, नकारात्मक रुढिवादीको मूल्य तिनुपरिरहेको छ।

घरेलु मामिलामा महलिाले नराम्रो असर भोगिरहेको देखिएमा महिला र पुरुषबीच शक्ति सन्तुलन ठिक नरहेको स्पष्ट हुन्छ। यस्तो असन्तुलनबाट महिला बढी प्रताडित छन्। 

महिलामाथि सबैभन्दा बढी हिंसाका घटना अफ्रिका र अमेरिकामा हुने गरेका छन्। यी देशमा महिलाहरु आफ्ना साथी र परिवारका सदस्यबाट मारिने जोखिम निकै हुन्छ। अफ्रिकामा त हरेक एक लाख महिलामा ३.१ जना महिला पीडित छन्।

हिंसाको सबैभन्दा कम दर युरोपमा छ। जहाँ हरेक एक लाख महिलामा ०.७ प्रतिशत महिला हिंसापीडित छन्। यूएनओडीसीका अनुसार महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न कानुन र कार्यक्रम भए पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा ठोस प्रगति हुन सकेको छैन।

प्रतिवेदनमा महिला विरुद्ध हुने हिंसा रोकथाम गर्न र त्यस्ता अपराधमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। ताकि अपराधीले चाँडो भन्दा चाँडो सजाय पाओस्। यसका साथै महिलाको संरक्षण र सम्भावित पीडितलाई सशक्तीकरण गर्न पनि सुझाइएको छ।

नीति, न्यायिक प्रणाली, स्वास्थ्य र सामाजिक सेवाहरुबीच राम्रो समन्वय हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ। यसैगरी यस प्रक्रियामा पुरुषहरुलाई पनि सहभागी गराउन सुझाव दिइएको छ। एएफपी

प्रकाशित: Nov 25, 2020| 05:44 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।