काठमाडौं– सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृत दिएको हो।
नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो।
‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको हो।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो।
चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको छ। अब चीनसँगको सहमतिपछि उचाइ सार्वजनिक हुने छ।
२०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिए पनि उचाइ घटेको वा बढेको जानकारी गराइएको छैन।
सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।