काठमाडौं– पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
पश्चिमी वायुको प्रभाव आज बेलुकादेखि विस्तारै कमजोर हँुदै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। ‘शुक्रबारदेखि मौसम सुधार हुन्छ’, उनले भने, ‘तत्काललाई वर्षाको सम्भावना छैन।’
आज बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ।
अपराह्नदेखि गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस छ।
त्यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस छ।
- रासस