शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

झापा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।

झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन गर्दै उनले भने, ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो।’

मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने बताए।

उनले भने, ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ।’
नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे।

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए। उनले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पुर्‍याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए।

मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको संकटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए।

सरकारले केही गरेन भन्नेहरुलाई जवाफ

सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उल्लेख गर्दै भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयू नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भएता पनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने बताए।

‘आज मुलुकका ७० वटा प्रयोगशालबाट पिसीआर परीक्षण भइरहेको छ’, उनले भने, ‘हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पिसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?’

विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैंकको प्रतिवेदनअनुसार अहिले नेपालले यस्तो संकटका बेला पनि दुई दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको स्पष्ट पारे। 

मन्त्री भट्टराईले कोभिड–१९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नुपरेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु ५० अर्बको पुनर्कर्जा कोष स्थापना गरेको स्मरण जानकारी दिए। रासस
 

प्रकाशित: Nov 28, 2020| 12:57 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।