काठमाडौं- हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य शनिबार राति सम्पन्न भएको छ।
गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गरिएको हो।
महामारीको प्रभाव अझै रहेकाले शुक्रबार र शनिबार राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए।
अन्य वर्ष झैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाले दुई लाख र वडा नं १६ ले बराहको मुकुट बनाउन सहयोग गरेको चित्रकारले बताए।
गत वर्ष पनि वडा नं १६ ले समितिलाई नृसिंहको मुकुट बनाइदिएको थियो। पाटन कृष्ण मन्दिर नजीकै रहेको ‘कार्तिक डबली’ मा राति नृत्य मञ्चन गर्न मञ्चलगायत आवश्यक तयारी गरिएको थियो।
कोभिड १९ का कारण सामाजिक दूरी कायम गरेर आवश्यक कलाकार मात्र उपस्थित गराइएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यो नाच चलाएका थिए। यो नाच विश्वकै नाचमध्ये सबैभन्दा लामो भएको जिकिर गरिएको छ।
कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। कात्तिक नाच प्रथम पटक पाँच दिन तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन्।
यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ।
सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विसं ०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ। सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।