काठमाडौं– ललितपुर कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकबाट भएको कर्जा प्रवाहमा ठूलो अनियमितता भएको देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ।
अनुसन्धानकै क्रममा तीन जना ऋणीलाई पक्राउ गरिएको प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। ‘हामीले तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘अनुसन्धान नसकिएकाले सबै कुरा विस्तृत जानकारी दिन अहिले मिल्दैन।’
थोरै सुन धितोमा राखेर सात करोडभन्दा बढी रकम प्रवाह भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। ‘ठगी भएको भन्दै केही मानिसविरुद्ध जाहेरी परेको छ,’ उनले भने।
नेपाल राष्ट्र बैंकले उक्त बैंकमा अनियमितता भएको ठहर गर्दै अनुसन्धानका लागि सीआईबीलाई पत्र लेखेको थियो। ‘राष्ट्र बैंक ऐन अन्तर्गत उसले नलेखेसम्म हाम्रो कार्यक्षेत्र अन्तर्गत पर्दैन,’ पाण्डेले भने,‘पत्र आइसकेपछि हामीले अनुसन्धान अघि बढाएका हौं।’
ऋणी, विचौलिया, सुन जाँच गर्ने व्यक्तिलगायतका विरुद्धमा जाहेरी परेको बताइएको छ।
सीआईबीका अर्का एक अधिकृतका अनुसार बैंकका कर्मचारीकै मिलेमतोमा ठूलो अनियमितता भएको हुन सक्ने भन्दै अनुसन्धानका क्रममा कर्मचारीसमेत तानिन सक्ने देखिएको छ।