स्वामी केशवानन्द गिरिको प्रयासमा संस्कृत–नेपाली शब्दकोश निर्माण भएको छ। संस्कृत व्याकरण र वेदान्तका विद्यार्थी केशवानन्द ‘अष्टाध्यायीमा दर्शन’ विषयमा विद्यावारिधिका लागि अनुसन्धानरत छन्। डा. स्वामी रामानन्द गिरिका शिष्य केशवानन्द महेश सन्न्यास आश्रम गुरुकुलका पूर्वप्राचार्य हुन्। ‘लघुसिद्धान्त कौमुदीको नेपाली व्याख्या’, ‘शुक्ल यजुर्वेद संहिता’ र ‘लघुभागवतम्’ ग्रन्थका लेखकसमेत रहेका केशवानन्दसँग नेपाली–संस्कृत शब्दकोशमा आधारित रहेर नेपाल समयले गरेको संक्षिप्त कुराकानी :
संस्कृत–नेपाल शब्दकोश सम्पादनको आवश्यकता किन पर्यो?
पछिल्लो समयमा संस्कृत भाषाप्रति आकर्षण बढेको छ। तर, हामीसँग संस्कृत–नेपाली शब्दकोश नहुँदा संस्कृत सिक्न चाहनेलाई अप्ठ्यारो थियो। संस्कृतमा चासो राख्ने र भाषा–साहित्यमा संलग्न अनुसन्धाताका लागि मात्र नभई सामान्य जिज्ञासुका लागि पनि संस्कृत–नेपाली शब्दकोशको खाँचो थियो। यिनै आवश्यकता पूर्तिका लागि शब्दकोश सम्पादन गरिएको हो।
पुस्तकका रूपमा प्रकाशित नगरेर किन मोबाइल एपमा ल्याउनुभयो?
ज्ञानविज्ञानका क्षेत्रमा प्रविधिको विस्तार भइसकेको छ। पछिल्लो पुस्ता त ग्रन्थ पल्टाउनुभन्दा मोबाइल र कम्प्युटरमा बढी बानी परेकोे छ। लेखपढ गर्ने अधिकांशको डिजिटल सामग्रीमा पहुँच छ। सबै उमेर समूहका मानिस प्रविधिमा रुचि राख्ने परिवेश छ। यस्तो अवस्थामा संस्कृतका शब्दलाई प्रविधिमार्फत प्रयोग किन नगर्ने भन्ने पनि लाग्यो। संस्कृतका जिज्ञासुले प्रविधिमार्फत सिक्न सकून् भन्ने पनि उद्देश्य हो।
ग्रन्थको ठेली पल्टाएर आवश्यक शब्दको अर्थ खोज्नु भन्दा मोबाइलमा डाउनलोड गरेको एपबाट तत्काल शब्द भेट्न सजिलो हुने हुँदा पनि एप निर्माण गरिएको हो। साथै पुस्तकका रूपमा प्रकाशित गर्नुभन्दा कम खर्च हुने भएकाले एप निर्माण गर्नुपरेको हो।
शब्दकोश सम्पादनको हुटहुटी कसरी जाग्यो?
म संस्कृत व्याकरण र वेदान्त दर्शनको विद्यार्थी हुँ। महेश सन्न्यास आश्रममा कक्षा ६ मा पढ्दादेखि नै संस्कृतका शब्द संकलन, अर्थज्ञान र व्युत्पत्ति ज्ञानमा मेरो विशेष रुचि थियो। जानेजत्तिका शब्द डायरीमा लेख्दै संग्रह गर्ने बानी थियो।
संकलित शब्दलाई कोरोना महामारीका बेला विद्यार्थीको सहयोगमा टाइप गराएँ। आफैंले पनि टाइप गरें। डिजाइन गरें। कोडिङ र डिकोडिङका काम गरें। ६ महिनामा तयार भयो। सुरुमा त संस्कृत पढ्न चाहनेका लागि सजिलो होला भनेर काम सुरु गरेको थिएँ। काम गर्दै जाँदा यसको आकार विशाल भयो। यो त संस्कृतको सबैभन्दा ठूलो कोश बन्न पुग्यो।
म आश्रममा बस्छु। आश्रममा बस्दा धेरै समय पढेर, प्रवचन गरेर, शास्त्रार्थ गरेर मात्र समय बिताउन मन लागेन। यीबाहेक केही न केही नयाँ काम गर्न मन लाग्यो। सानो प्रयासले पनि धेरैभन्दा धेरै मानिसलाई सहयोग पुगोस् भन्ने मेरो उद्देश्य हो। सोही उद्देश्यलाई मूर्त रूप दिन यो काम गरेको हुँ।
शब्दकोशका विशेषता के के हुन्?
संस्कृत शब्दको अर्थ नेपालीमा उपलब्ध हुनु यसको पहिलो विशेषता हो। शब्दको व्युत्पत्ति र निष्पत्ति, कृदन्त र धातु रूपावली, शब्द रूपावली पनि दिइएको छ।
यस्तै विभिन्न कोडिङ–डिकोडिङ गरिएका संकेत अंकहरु शब्दकोशमा छन्। साथै पर्यायवाची शब्द, विपरीतार्थी शब्द छन्। अर्को कुरा यो शब्दकोशमा संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी चारवटा भाषाका शब्द संकलन गरिएको छ। आप्टेको संस्कृत–हिन्दीकोश, संस्कृत–अंग्रेजी शब्दकोश, शब्दकल्पद्रुम, वाचस्पत्यम् जस्ता विशाल शब्दकोश यो एपमा पाउन सकिन्छ।
कुलचन्द्र गौतमको अमरकोश र फणीन्द्र पाण्डेको संस्कृत–नेपाली शब्दकोशलाई आधार बनाइएको छ भने वर्णविन्यासमा नेपाली बृहत् शब्दकोश प्रयोग गरिएको छ। शब्दकोशमा संस्कृतका मूल शब्द डेढ लाख छन् भने सबै भाषाका गरेर करिब चार लाख शब्द छन्।
यो शब्दकोशको प्रयोगबाट त्रुटि संशोधन र अनुवाद पनि गर्न सकिन्छ?
त्रुटि संशोधन र अनुवाद पद्धतिलाई पनि यसमा संयोजन गर्न सकिन्छ। तर यो काममा बढी श्रम र आर्थिक स्रोत चाहिन्छ। यसका लागि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता कृत्रिम उपकरण आवश्यक पर्छ। हामीसँग त्यस्ता उपकरण छैनन्। ‘गुगल’ जस्ता ठूला संस्थाले चाहे भने मात्र शब्दकोशबाट त्रुटि संशोधन र अनुवाद गर्न सकिन्छ।
शब्दकोश सम्पादन र तयारीमा धेरै खर्च भयो होला? आर्थिक स्रोत कसरी जुटाउनुभयो?
शब्दकोश तयारीका लागि आफैं अहोरात्र संलग्न भएँ। कुनै दिन त दुई घण्टा मात्र सुतेको छु। यसमा मेरा विद्यार्थीले धेरै सहयोग गरेका छन्। प्राविधिकबाहेक अरूलाई पारिश्रमिक दिनु परेन। तैपनि झन्डै १० लाख रुपैयाँ खर्च भयो। आर्थिक स्रोत पूर्वविद्यार्थी र शिक्षाप्रति जागरुक व्यक्तित्वहरुले उपलब्ध गराउनुभयो। केही रकम त तिर्नै बाँकी छ।
यत्तिको शब्दकोश निर्माण कुनै संस्थाले गरेको भए ५० लाखभन्दा बढी खर्च हुन सक्थ्यो। तर हामीले थोरै रकममा निर्माण गरेका छौं।
एप डाउनलोड हुँदै जाँदा पैसा संकलन होला नि?
म यस्तो काम गरें भनेर विज्ञापन गर्दिनँ। त्यस्तै मेरो एपमा कुनै व्यावसायिक विज्ञापन पनि राख्दिनँ। यो निःशुल्क उपलब्ध हुनेछ। एपमा विज्ञापन नराख्ने र निःशुल्क डाउनलोड गर्न मिल्ने भएकाले यसबाट मलाई कुनै आर्थिक आम्दानी हुँदैन। पैसा कमाऔंला, नाफा गरुँला, व्यापार गरुँला भनेर शब्दकोश बनाएको होइन। यसमा कुनै व्यापारिक प्रयोजन छैन।
यो शब्दकोश प्रयोग किन गर्नपर्छ?
यो शब्दकोशबाट संस्कृतका शुद्ध शब्द जान्न सकिन्छ। तिनको अर्थ उपलब्ध छ। भाषा शुद्धीकरण गर्न सकिन्छ। संस्कृतको शब्दलाई नेपाली, हिन्दी र अंग्रेजीमा के भनिन्छ भन्ने पनि जानकारी हुन्छ। त्यसैले शब्दकोशको प्रयोग धेरैभन्दा धेरै मानिसका लागि उपयोगी हुन्छ भन्ने विश्वास छ।