काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको पार्टीभित्र उत्पन्न समस्या देश र संसदको समस्या नहुने बताएका छन्।
राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिनको बैठकमा शुक्रबार धारणा राख्दै उनले भने, ‘पार्टीभित्र बहुमत प्राप्त गर्ने हो वा अल्पमतमा परेपछि राजीनामा दिने हो। पार्टीभित्र समस्यामा पर्ने अनि देशलाई खाल्डोमा जाकिदिने ? यस्तो काम विश्वमा लोकतन्त्रवादीले कहिँ पनि गर्दैन। ओलीसँग यो अधिकार थिएन तर गरिदिनुभयो।’
अहिले राष्ट्रिय सभासँगै प्रतिनिधिसभाको पनि बैठक हुनुपर्नेमा संघीय संसदको एउटा अंग मृत्यु शैयामा पुगेको उनले बताए। ‘दुवै सदनको बैठक बस्नुपर्नेमा राष्ट्रिय सभाको मात्रै बैठक भइरहेको छ। यो नेपाली राजनीतिको विशिष्ट अवस्था हो। नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट उपलब्धि धरापमा पर्ने हो कि भन्ने आशंका मडारिएको छ,’ सांसद देवले भने।
एकजना डेनिस कथा सम्झिँदै उनले भने, ‘अन्धभक्तहरुले महाराजलाई बजारमा घुमाउँछन्। क्या राम्रो लुगा लगाइरहनुभएको छ भन्छन् भक्तहरुले। घुमाउँदा घुमाउँदै एउटा बच्चाले सत्य कुरा भन्छ– हाम्रो महाराज त नांगै भइबक्सिन्छ। सत्यलाई त्यो बच्चाले रहस्योद्घाटन गर्छ। आजको हाम्रो राजनीति त्यस्तै छ। नेपालमा ओलीले प्रतिनिधिसभा विघटन गरेर ठिक गरेँ। प्रतिनिधिसभाको ६४ प्रतिशतको बहुमतको नेताका हैसियतले ठिक गरेँ भन्दै हुनुहुन्छ। तर पूरा देशले असंवैधानिक भनिरहेको छ। संविधानको धारा ७६ को उपधारा १ देखि १० सम्म हेर्ने हो भने यो असंवैधानिक हो। यसले गर्दा देश ठूलो राजनीतिक दुर्घटनाको विन्दुमा आइपुगेको छ। कुहिराको काग जस्तो, कालो तुवाँलोभित्र उडिरहे झैं देश भइरहेको छ। यसको मुख्य कारण वर्तमान सरकार, प्रधानमन्त्री हो।’
संसद् विघटनको विषय अदालतमा पुगिसकेकाले अदालतले जे निर्णय गर्छ, कांग्रेसले त्यसलाई मानेर अघि बढ्ने सांसद देवले बताए।
संसद् विघटन हुने र सरकार परिवर्तन भइरहने समस्या हल गर्नुपर्छ भनेर नै धारा ७६ को १ देखि १० सम्म कतै पनि बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको उनले बताए। उनले भने, ‘संसदलाई ५ पटकसम्म वैकल्पिक सरकार बनाउन मौका दिएको छ संविधानले। सरकार नै बन्न सकेन भनेमात्र संसद् विघटन हुन्छ र ६ महिनाभित्र निर्वाचन हुन्छ। संसद् भनेको जनताका प्रतिनिधि बस्ने ठाउँ हो। त्यसैले यो मर्नु हुँदैन र मारिनु हुँदैन भनेर नै यो व्यवस्था गरिएको हो। हाम्रो अहिलेको संसदीय लोकतन्त्रमा संसद्को सर्वोच्चता छ। प्रधानमन्त्रीको सर्वोच्चता यसले कल्पना गरेको छैन।’
सरकार संघीयताप्रति पनि प्रतिबद्ध छ कि छैन भन्नेमा उनले शंका व्यक्त गरे। ‘प्रधानमन्त्रीको किचेन क्याबिनेटकी नेतृले संघीयता खारेज गर्न माग राख्नुभएको छ। यो कुरा गम्भीर छ। सत्ता पक्षले पनि यो प्रश्न उठाइरहेको छ,’ उनले भने।
ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको उनले बताए। उनले नेकपाको सरकारले पार्टीको घोषणापत्र नै भुलेको टिप्पणी गरे। उनले भने, ‘ओली नेतृत्वको सरकारको नारा छ– समृद्ध नेपाल सुखी नेपाली। तर सरकारको काम हेर्दा दरिद्र नेपाल दुःखी नेपालीको दिशामा गइरहेको छ। कोरोनाकालमा राहत प्याकेज घोषणा हुन सकेन। एमसीसी झुण्डिएको छ, बीआरआई अघि बढेको छैन। अर्थतन्त्र ऋणात्मक हुने अवस्थामा छ। कसरी समृद्ध नेपाल सुखी नेपाली बन्न सक्छ ?’