काठमाडौं– नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टी आन्दोलनमा रहेको स्पष्ट पारेको छ।
केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा दुईखाले धारणा नभएको स्पष्ट पारेका हुन्।
कांग्रेसमा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने या निर्वाचनको तयारीमा जुट्ने भन्ने विषयमा विवाद थियो।
केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले वडा तहसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
जसअनुसार पुस २५ गते प्रदेश निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए।
प्रवक्ता शर्माले भने, ‘संसद् विघटन असंवैधानिक भनेर पार्टी आन्दोलनमा गइसकेको छ। कांग्रेस आन्दोलनमै छ। कांग्रेसमा दुईखाले धारणाा छ भनेर बुझिदिनुभएन।’
उनले कांग्रेसमा कुनै विवाद नरहेकाले भ्रमपूर्ण समाचार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरे। उनले भने, ‘कांग्रेसमा विवाद छैन। गलत समाचारको खण्डन गर्छौं। भ्रमपूर्ण समाचार नलेख्न अनुरोध गर्दछु।’
शर्माले वर्तमान सरकारले नैतिक र राजनीतिक हिसाबले शासन गर्ने अवस्था गुमाइसकेको बताए। उनले भने, 'हामी एक्लै जान्छौं। ओलीका सारथीहरुसँग मिल्दैनौं।’
जारी केन्द्रीय कार्य समितकाे बैठक २७ गतेसम्मका लागि स्थगित गरिएकाे शर्माले बताए।