काठमाडौं- इसेवा मनी ट्रान्सफर र ‘इन्स्ट्यान्ट क्यास’ ग्लोबल मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
इसेवा र इन्स्ट्यान्ट क्यासबीच मंगलबार उक्त सम्झौता भएको हो।
सम्झौतासँगै यूएई, कतार, कुवेतलगायतका १० भन्दा बढी मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स पठाउन सकिने इसेवा मनी ट्रान्सफरले जानकारी दिएको छ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे।
यूएई, कतार, कुवेतलगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्ने इसेवाको भनाइ छ।
नगदमा पठाएको रकम इसेवा मनी ट्रान्सफरका नेपालभर रहेका ८ हजारभन्दा बढी एजेन्ट तथा इसेवा वालेट एपमार्फत् पनि प्राप्त गर्न सकिने इसेवाको दाबी छ।
नगदमा पठाएको रकम इसेवा वालेटमा प्राप्त गर्दा थप ५५ रूपैयाँ क्यासब्याक पाउन सकिने इसेवाको दाबी छ।
इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनी ट्रान्स्फर यूएईको इमिरेट्स पोष्ट ग्रुपबाट प्रवर्द्धित एक स्थापित कम्पनी हो।
यो कम्पनी विश्व रेमिट्यान्सको क्षेत्रमा तीव्रारूपमा बजार विस्तार गर्न सफल भएको छ।
इसेवा मनी ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत् विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।
इसेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपियन देशलगायत खाडीका थुप्रै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।