काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डको तयारी पुरा भएको छ।
सातदोबाटोस्थित करातेको हलमा भोलि (मंगलबार) हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक जनाएको छ।
२०५२ सालमा स्थापित एनएसजेएफले २०५३ सालमा पहिलो अवार्ड गरे पनि नियमित रुपमा भने २०६० बाट गर्दै आइरहेको छ। भोलि हुने अवार्ड १७ औं संस्करण हो।
भूकम्पका कारण २०७२ सालको अवार्ड हुन सकेको थिएन। पछिल्ला वर्षहरुमा दर्शकहरुको भौतिक उपस्थितिमै अवार्ड हुने गरे पनि यो वर्ष भने भर्चुअल रुपमा कार्यक्रम गर्ने आयोजकले जनाएको छ।
भर्चुअल कार्यक्रमका लागि कराँतेको हलमा भर्चुलअ स्टेज तयार गरिएको आयोजकले जनाएको छ। गत वर्षझै यो वर्ष पनि १० विधामा अवार्ड वितरण गरिनेछ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स चोइज अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ दि इयर छन्।
त्यस्तै अघिल्लो वर्षबाट सुरु गरिएको इन्टरनेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड यो वर्ष पनि प्रदान गरिने आजोजकले बताएको छ।
‘वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकसहित चार विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।’ आयोजकले भनेको छ।
अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।
त्यस्तै स्पेसल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चोधरी र फाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।
यो वर्षको खेलाडी छनोटका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ।