बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फर्जी लालपुर्जा बनाएर क्याम्पसको जग्गा व्यक्तिका नाममा 

फर्जी लालपुर्जा बनाएर क्याम्पसको जग्गा व्यक्तिका नाममा 

शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन्। 
 |  आइतबार, माघ ११, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, माघ ११, २०७७

पर्सा– वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गामा एक व्यक्तिले जबर्जस्ती कब्जा जमाएका छन्। 

शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन्। 

क्याम्पस प्रशासनले पटकपटक क्वार्टर खाली गर्न पत्राचार गर्दा पाण्डेले आफ्नो नाममा रहेको लालपुर्जा देखाउने गरेका छन्। 

पाण्डेले ०६३ वैशाख १५ गते मालपोत कार्यालयबाट कित्ता नम्बर १६ र ४६ को १५ धुर जग्गा आफ्नो नाममा गराएको पाइएको छ। 

जग्गा निजी व्यक्तिका नाममा कसरी नामसारी भयो भनेर क्याम्पसले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो। मालपोत कार्यालय पर्साले उक्त लालपुर्जामा उल्लिखित जग्गाको अभिलेख कार्यालयमा नरहेको जवाफ दिएको थियो। 

मालपोत कार्यालयलाई क्याम्पसले गरेको पत्राचारका आधारमा मालपोत कार्यालयको मुद्दा शाखाले समेत उक्त नामको जग्गा अभिलेखमा नदेखिएको भनेर लिखित जवाफ दिएको छ भने मोठ भिडाउने शाखाले विवरण कम्प्युटरमा नदेखिएको जवाफ दिएको छ। 

नापी शाखाबाट पनि फिल्डबुक निकाल्दा उक्त जग्गा कुनै व्यक्तिका नाममा नदेखिएका कारण पाण्डेले फर्जी लालपुर्जा तयार पारेको पुष्टि भएको क्याम्पस प्रशासनको भनाइ छ। 

यसबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिँदासमेत कारबाही प्रक्रिया अगाडि नबढेको र पाण्डेले पनि क्वार्टर खाली नगरेको क्याम्पस सामान्य प्रशासन शाखा प्रमुख गीताकुमारी श्रेष्ठले जानकारी दिइन्। 

यस अवस्थामा पाण्डेले कसरी र कहाँबाट लालपुर्जा प्राप्त गरे भन्ने खोजीको विषय बनेको उनको भनाइ छ। 

फर्जी लालपुर्जा तयार गरेर पाण्डेले वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत् प्राद्यिकरणबाट बिजुलीसमेत जडान गरेका छन्। 

पाण्डेले फर्जी लालपुर्जा तयार पारी आफ्नो जग्गा रहेको दाबी गर्दै गुण्डागर्दी शैलीमा क्वार्टर खाली नगरेको उनले बताइन्। 
क्वार्टर खाली गराउन त्रिभुवन विश्वविद्यालयको नियमअनुसार पहिला बिजुली काट्ने, त्यसबाट नमाने पेन्सन रोक्नका लागि विश्वविद्यालयमा पत्राचार गर्ने र त्यसपछि पनि अटेर गरे प्रहरी लगाएर खाली गराउनुपर्छ। 

पेन्सन रोक्न  त्रिभुवन विश्वविद्यालयमा पत्राचार गर्दा पनि नरोक्नुका साथै काटिएको बिजुली पनि पुनः जडान गराएर पाण्डे जबरजस्ती उक्त क्वार्टरमा बस्दै आएको बताइएको छ।

क्वार्टर खाली गराउन क्याम्पस प्रमुखसहितको टोली पटकपटक प्रहरीमा धाउँदासमेत पाण्डेले खाली नगरेको प्रशासनको भनाइ छ। 

पाण्डेका बुवा ०६१ चैत २८ गते क्वार्टरमा प्रवेश गरेका थिए। क्वार्टर प्रवेश गर्दाको बखत उनीसँग गरिएको कागजातमा क्वार्टरलगायत केही फर्निचर पनि दिइएको कागज क्याम्पससँग सुरक्षित छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले क्याम्पसबाट आएको उजुरीमा लालपुर्जा छानबिनबारे नभई क्वार्टर खाली गराउन सुरक्षा प्रदान गरिदिने उल्लेख भएको बताए। 

फर्जी लालपुर्जा तयार पारिएको भनेर जानकारी आएकाले तत्काल छानबिन प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।


 

प्रकाशित: Jan 24, 2021| 06:58 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।