धनगढी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गरिरहेको आरोप लगाएका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले मनमौजी गरेको आरोप लगाएका हुन्। उनले ओली नभएर प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष रहेको बताए।
रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए। उनले निर्वाचन आयोगले लोकतन्त्रको मूल्यअनुसार बहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गरे। बहुमतलाई नमान्ने हो भने निर्वाचन किन चाहियो उनले भने, ‘हामी ४४१ केन्द्रीय सदस्यको ७० प्रतिशतलाई आयोगमा उपस्थित गराएर सनाखत गर्न तयार छौँ।’ सर्वोच्च अदालतले पनि संविधानमा नभएको विषयलाई मान्यता दिँदैन भन्ने विश्वास रहेको उनले बताए।
रावलले अर्को प्रसंगमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका रिक्त मन्त्री चाँडै पूर्ति गर्न पार्टीले मुख्यमन्त्रीलाई आग्रह गरेको बताए। ‘हामीले मुख्यमन्त्रीलाई रिक्त ठाउँ पूर्ति गर्न भनेका छौँ तर कहिले गर्ने, कसलाई गर्ने उहाँको अधिकारको कुरा हो।’ उनले भने।
नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार सुदूरपश्चिमबासीले आफ्नो मत जाहेर गरेको बताए।
‘सुदूरपश्चिमबासी प्रतिनिधिसभा विघटनविरुद्ध छन् भन्ने शनिबारको सभाले प्रमाणित भएको छ’ रावलले भने, ‘ओलीको सभाभन्दा चार दोब्वर बढी सुदूरपश्चिमेलीले ओलीको कदमविरुद्ध सभामा उपस्थित भएर खवरदारी गरे।’