जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेशी जनताले नेपाली कांग्रेसलाई चुनावमा मत नदिएका कारण आज मुलुक प्रतिगमनतर्फ धकेलिएको बताएका छन्। उनले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनताको पनि दोष रहेको बताए।
शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुक अहिले प्रतिगमनतर्फ गइरहेको अवस्थामा संघीयता र संविधान नै समाप्त हुने सम्भावना बढेकोमा चिन्ता व्यक्त गरे।
उनले भने ‘नेपाली कांग्रेसले धेरै दिन शासन गर्यो भनेर मधेशी जनताले कांग्रेसलाई हराएकै परिणाम हो, आज केपी ओली जस्ता निरंकुशले आफ्ना पार्टीगत विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकेलेका छन्।’
आज नेपाली कांग्रेसलाई मत दिएको भए यस्तो परिस्थितिको श्रृजना नै हुने थिएन उनले बताए। अहिले मुलुक प्रतिगमनतर्फ मात्र धकेलिएको छैन हजारौंको शहादत पश्चात् प्राप्त उपलब्धी संघीयता र संविधान समेत समाप्त हुने अवस्थामा पुगिसकेको उपसभापति निधिले बताए।
उनले भने ‘हामी मुलुकलाई बचाउन प्रतिनिधिसभा पुनर्स्थापन गर्ने पक्षमा छौं, यदि पुनर्स्थापन हुन सकेन भने लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा पनि जान तयार छौं।’
उनले एक अर्को प्रसंगको चर्चा गर्दै भने ‘ओली नेतृत्वको सरकार राजतन्त्र फर्काउने प्रपञ्चमा लागेको तर नेपाली कांग्रेस तिनीहरुको सपना साकार हुने दिने छैन।’ अगाडि भने ‘जनआन्दोलनबाट प्राप्त उपलब्धी संघीय गणतन्त्रलाई समाप्त पार्न हामी दिदैनौं, राजतन्त्र फर्काउन खोज्नेहरुलाई नेपाली जनता नै लखेटेर भगाउने छन्।’