काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन्।
पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन्। ‘निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्’, उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ तपाईंहरु ढुक्क हुनुहोस्।’
नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको जिकिर गरे।
मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरंकुश हुन नसक्ने दाबी गरे।
अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको बताए।
उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने जिकिर गरे।
कार्यक्रममा महासङ्घले २७५ सदस्यीय साताैँ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ। कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन्। नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए। रासस