शुक्रबार, असार ६, २०८२

हरेक युगको कालजयी सृजना नै ‘स्वर्ण सृजना’ : रसिक

भाषा, साहित्य, सङ्गीत र सभ्यता जस्ता कुरा आफ्नो जातीय अस्तित्व र पहिचानसँग जोडिएका कुरा पनि हुन्, साथै यो भूगोलसँग गाँसिएका जडवत् विषय पनि हुन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

यस क्षणमा म झल्याँस्स ५० वर्ष पुरानो त्यो क्षण सम्झिरहेको छु जहाँ पहिलोपटक दार्जीलिङे ठिहीमा हाम्रो ‘लेकाली समूह’ दार्जीलिङ्को कागझोडा रेल्वे स्टेशनको होटलमा बास बस्न पुगेको थियो।

त्यसरी दार्जीलिङ पुग्नुको एउटै उद्देश्य त्यहाँको लोभलाग्दो नेपाली सङ्गीतका भलाद्‌मी श्रोता माझमा लेकाली गीतको स्वाद पस्किनु थियो। कार्यक्रम गर्ने निधो त भयो तर हामीसँग हार्मोनियम थिएन।

नेपाली सङ्गीतका अग्रज दाजु अमर गुरूङ त्यस ताका त्यहीँ हुनुहुन्थ्यो भन्ने थाहा भयो। हामी लेकाली त्यही पुग्यौं तर वहाँले आफ्नो हार्मोनियम दिन नसक्ने बताउनु हुँदा हामी निकै मर्माहत भएका थियौं किनभने केही दिन अगाडि काठमाडौंमा भएको अमर गुरूङ नाइटमा लेकालीले आफ्नो स्तरबाट सक्दो सहयोग गरेको थियो।

त्यसरी निराश भइरहेको अवस्थामा दार्जीलिङ्कै युवा सङ्गीतकार मणिकमल क्षेत्रीले हामीलाई डोर्‍याउँदै दार्जीलिङ्कै म्युनिसिपल्टी बिल्डिङ्गमा बस्नुहुने गायिका दिदी शान्ति ठटालकहाँ पुर्‍याउनुभयो।

नेपालबाट आएका लेकाली समूहका हामी भाइबहिनीलाई देखेर शान्ति दिदी अत्यन्तै खुशी हुँदै आफ्नो हार्मोनियम दिएर हामीलाई ठूलो गुन लगाउनुभयो। २०२७ सालको दशैंतिहार बीचको त्यो क्षण आज म झलझली आँखामा सम्झिरहेको छु, जुनबेला ‘सम्हालेर राख सँगालेर राख’ गीतबाट शान्ति दिदी नेपाली श्रोताहरूमाझ छाइसक्नुभएको थियो।

यस विद्वत्‌ सभाको गरिमालाई सायद शोभा नदिने नितान्त मेरो व्यक्तिगत गन्थनबाट मेरो भनाइ शुरू गर्नुपर्दा मलाई कताकता असहज अनुभूति भएको छ। यसमा केही तलमाथि परे मेरो आफ्नो व्यक्तिगत अज्ञानता र कमजोरी सम्झी क्षमा गर्नुहुनेछ भन्ने मलाई विश्‍वास छ।

राजनीतिक भूगोलका आधारमा भिन्न मुलुक र अलग कालखण्ड भए पनि सृजना तथा साधनाका आधारमा युगीन मानिने साधक पुस्तासँग जोडिएर हुर्किनुभएकी शान्ति ठटालले परम्पराको सनातनी मार्गभन्दा भिन्न लयमा जेजसरी आफ्नै मार्ग उभ्याउनुभयो, त्यो स्तुत्य छ। अनुकरणीय छ।

सङ्गीतमा गहिराइको अध्ययनसँगै निरन्तरको साधनाका कारण नेपाली सुगम गीत-सङ्गीत विधामा अग्रणी नाम बनाउन सफल शान्ति ठटालले २०७६ सालको जगदम्बाश्री सम्मान पाएको यो क्षण नेपाली गीत-सङ्गीत जगत्‌को सूचना राख्ने सबैका लागि सहस्र खुसीको क्षण बनेको छ।

यही खुसी बाँड्ने क्रममा आज म थप केही निवेदन गर्न गइरहेको छु। नेपाली भाषा, साहित्यमा प्रत्येक वर्ष प्रकाशित भएका उत्कृष्ट एक कृतिलाई प्रदान गरिने मदन पुरस्कार जसलाई नेपाली नोवल पुरस्कारका रूपमा लिने गरिन्छ। यही पुरस्कारसँगै जगदम्बाश्री सम्मान गाँसिएको छ।

यसो हुनुमा मदनशमशेरकी धर्मपत्नी हुनुहुन्थ्यो रानी जगदम्बा। जो जन्मको आधारमा नेपालीनभई कर्मको आधारमा नेपाली हुनुहुन्थ्यो। वहाँले आफ्नो जीवनकालमा नेपाली भाषा, साहित्य, स्वास्थ्य, यातायातको विकास र प्रगतिका लागि आफ्नो जायजेथा सुम्पनु भएको इतिहास आज पनि हामी टड्कारो रूपमा देख्न सक्छौं।

यसै मेसोमा म आफ्नो अनुभव पनि यस विद्वत्‌ सभामा पस्कने धृष्टता गर्दछु। सम्वत् ५२/५३ को समयमा साझा प्रकाशन जस्तो गरिमामय संस्थामा सेवा गर्ने अवसर मलाई जुरेको थियो। साझा प्रकाशनको जग र जे जति पनि भौतिक संरचनाहरू बनेका थिए त्यसका जग्गादाता रानी जगदम्बा हुनुहुन्थ्यो भन्ने थाहा पाउँदा वहाँप्रति श्रद्धाले मेरो शिर निहुरिएको थियो र मैले तत्कालै रानी जगदम्बाको कलात्मक मुहार चित्र प्रसिद्ध चित्रकार टेकवीर मुखियाको अमर कृतिका रूपमा प्रकाशनको कार्यालयमा ससम्मान सजाएको थिएँ।

मलाई लाग्छ- इतिहास र योगदानलाई जाति, समुदाय, वर्ग, लिङ्ग वा संस्कृतिको सङ्कुचित घेरामा बाँधिनु हुँदैन।

यस्ता सुकर्म र परोपकारकारीको सम्मान स्वरूप मदन पुरस्कार गुठीका संस्थापक एवं अध्यक्ष कमलमणि दीक्षितकै सोच र परिकल्पनामा आआफ्नै क्षेत्रमा विशिष्टता हासिल गर्ने साधकहरूको योगदानको सम्मान गर्न मदन पुरस्कारकै हाराहारीमा यो जगदम्बाश्री उत्कृष्ट दीर्घ सेवा सम्मान स्थापना गरिएको हो। जुन सम्मान समारोहमा आज हामी फड्के किनाराका साक्षी भएर बसेका छौं।

आज सम्मानित हुनुहुने अग्रज शान्ति ठटालकै वरिपरिको परिधिभित्र रहेर नेपाली सङ्गीतबारे मेरा आफ्ना निजी विचारहरू यस विद्वत्‌ सभामा निवेदन गर्न गइरहेको छु। कतिपयले सङ्गीतको स्वर्णकाल, भाषासाहित्यको स्वर्णकाल भनेर अलग कित्तामा राखेर सृजनाको वर्गीकरण गर्ने गरेको मैले पाएको छु।

मलाई पनि विगत केही समय यही भ्रम थियो, तर समय, अनुभव र अध्ययनसँगै यो भ्रम मबाट हटेको छ। आज यसलाई वर्गीकरण भन्नुको साटो म विभेदीकरण भन्न रूचाउँछु।

पक्कै पनि नेपाली गीतसङ्गीतको सृजनापथमा संवत् ६० को दशकमा उदाएका सेतुराम वा त्यसपछिका मित्रसेन र मेलवादेवीहरूले खनेको त्यो गोरेटोको इतिहास स्मरण नगरिकन आजको यो विन्दुमा आइपुग्ने काम दुरूह हुन जान्छ।

भाषा, साहित्य, सङ्गीत र सभ्यता जस्ता कुरा आफ्नो जातीय अस्तित्व र पहिचानसँग जोडिएका कुरा पनि हुन्, साथै यो भूगोलसँग गाँसिएका जडवत् विषय पनि हुन्।

उदाहरणमा बोल्नुपर्दा भारत,दार्जीलिङमा गीत सङ्गीतका माध्यमबाट अगमसिंह गिरी र अम्बर गुरूङले जुन माटोमा उभिएर जस्तो जागरण चेतनाका कुरा गरेका छन्, नेपालमा पनि त्यस्तै फरक चेतनाका धुनहरू नगुन्जिएका होइनन्, तर सृजना, साधना र योगदानका आधारमा एउटा समय वा कालखण्डलाई स्वर्णकाल अथवा विशिष्ट काल भनेरै त्यसमै तर्कशील बनिरहनुभन्दा हरेक युग, समय र पुस्ताको कालजयी सृजनालाई ‘स्वर्ण सृजना’ भनेर चिन्नेचिनाउने पक्षमा म उभिएको छु।

नेपालको हकमा २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि देशविदेशका श्रोतागणले नेपाली गीतसङ्गीत र गायनको जुन अपनत्वले भरिएको सृजना सुन्न र मनन गर्न पाए, त्यो हरेक क्षण तत्‌तत् कालखण्ड तथा पुस्ताका लागि आफ्नै स्वर्णकाल थियो भन्ने मेरो बुझाइ छ।

सृजनाका हरेक कुरामा पक्कै पनि विषयगत गहिराइ र साधनाको मापदण्ड त देखिन्छ नै। हो, त्यही बेला शान्ति ठटालहरूको फरक तहको साधना र सृजना आफै स्पष्ट बनेर हाम्रा सामुमा देखापर्छ। यसमा यो वर्ग र यो स्तर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन।

स्वयम् शान्ति ठटालले नेपाल तथा भारतमा रहेका नेपाली सङ्गीत सर्जक तथा साधकले गरेको सृजनाका आधारमा सन् ६० को दशकलाई स्वर्णिम युग भनेर भन्नुभएको मैले कतै पढेको छु। यस भनाइलाई मैले वहाँकाबारेमा लेख्दा पनि उद्धृत गरेको छु। 

 स्वभावतस् नेपालमा नातिकाजी,शिवशंकर,तारादेवी र अझ पछि नारायण गोपाल,बच्चुकैलाश, प्रेमध्वज प्रधान, पुष्प नेपाली आदिको त्यो सृजनशील स्रष्टाको युगलाई त्यसरी स्वर्णकाल भनिएको हुनुपर्छ। एकैसाथ भारतको दार्जीलिङमा रहेका हिरा कुमार सिंह, नवीन बर्देवा, अमर गुरूङ,शरणरन्जित, कर्म-गोपाल योञ्जन,जितेन्द्र बर्देवा, अरूणा लामा आदिले सन् ६० को दशकमा जन्माएको धुन र ल्याएको रौनक यही ‘स्वर्णकालको विम्ब’ थियो कि?

तर,रेडियो,टेलिभिजनको वर्चस्व नभैसकेको र टोले,डबली,बैठकी र कोठे सङ्गीत माहोलमा सृजनाको उन्नयन हुने समयमा सन् ६० को दशक एकाएक देखिएको सृजनशील तथा परिवर्तनशील युग थियो। कहींकतै तुलना गर्नै नपर्ने र गरिरहन आवश्यक नपर्ने त्यही कालखण्डलाई हामीले स्वर्णकाल मानेका मात्रै हौं, तर प्रयोग, शैली र शिल्पका हिसाबमा हरेक युग अथवा हरेक पुस्तामा यस्ता स्वर्णकाल उनिएरै आएका हुन्छन् भन्ने मेरो विश्वास छ, मान्यता छ।

यसो भन्दैमा अहिलेसम्म मानिंदै आएको गीतसङ्गीत र सृजनाको स्वर्णकाल ‘केही थिएन’ भन्ने ढिठ तर्कका पछि म छैन। बरू त्यो युग हामी सबैका लागि प्रेरणादायी र पछ्‌याउन अध्ययन, मनन गर्न मिल्ने अग्रजहरूको महत्वपूर्ण योगदानले भरिएको समय हो,आज त्यही गुनको तिरो तिर्ने अवसर हामीलाई जुरेको छ- अग्रज सङ्गीतज्ञ शान्ति ठटाललाई यो जगदम्बाश्री सम्मान गर्न पाएर।

सृजना आफैमा अतुलनीय विषय हो। २०४५ सालमा पहिलोपटक जगदम्बाश्री सम्मान पाउने अग्रज गायक नारायण गोपाल अथवा पछि लोकसङ्गीतका विधामा जगदम्बाश्री सम्मानबाट सम्मानित हुने अलि मियाँ,नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउन भूमिका निभाउने सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी,आसामका अग्रज साहित्यकार हरिप्रसाद गोर्खा राई,बसाई उपन्यासका लील बहादुर क्षेत्री,तेस्रो आयामदेखि लीला लेखनका प्रवर्तक इन्द्रबहादुर राई,अग्रज सङ्गीतकार अमर गुरूङदेखि नेपाली हास्य अभिनयमा नयाँ दिशानिर्देश गर्ने महजोडी लगायत झण्डै तीन दर्जन व्यक्तित्व सबै आआफ्ना विधा, समय र साधनामा उत्तिकै अब्बल हुनुहुन्थ्यो। यो सम्मान तुलनाको विषय हुनै सक्दैन।

शान्ति ठटालज्यूको योगदान र साधनाको मूल्याङ्कन गर्दा कालखण्डका आधारमा सङ्गीतज्ञ अम्बर गुरूङको ‘लेगेसी’मा जोडिंदै आए पनि उहाँको आफ्नै विशिष्ट पहिचान र साङ्गीतिक विशिष्टतालाई कहींकतै तुलना गर्नै सकिंदैन,मिल्दैन पनि।

शान्ति ठटालज्यू, आज यसरी सम्मानित भैरहेका बेला सङ्गीत साधनाको उहाँको ६० वर्षभन्दा लामो योगदानको उचित कदर र मूल्याङ्कन मदन पुरस्कार गुठीले गर्न सकेको छ भन्ने व्यक्तिगत अनुभूति मलाई भैरहेको छ।

दार्जीलिङको परम्पराजन्य पारिवारिक पृष्ठभूमिबाट सुरू भएको साङ्गीतिक सङ्घर्ष र साधनाको ऐतिहासिक गोरेटोमा शान्ति ठटालको नामकाम यसरी जोडिएर आएको छ, शास्त्रीयदेखि रवीन्द्र सङ्गीत, सुगम सङ्गीतदेखि पछिल्लो क्यान्टाटासम्मका प्रयोगपरक सृजनामा उहाँ चिनिनुभएको छ।

सङ्गीतज्ञ अम्बर गुरूङसँग जोडिएको साङ्गीतिक सृजनामा सुरूमा स्वरमार्फत् चिनिनुभएकी शान्ति पछि ‘परालको आगो’, ‘बाँच्न चाहनेहरू’ जस्ता नेपाली चलचित्रमार्फत् प्रथम नेपाली महिला चलचित्र सङ्गीतकारको पगरीलाई शिरमा पहिराउने गौरव प्राप्त गर्नुभएको छ।

यी चलचित्रमार्फत उहाँले जेजसरी चल्दै आएको परम्परितभन्दा अलग धुन बाहिर ल्याउनुभयो,त्यसलाई कुनै समय वा कालखण्डको वर्गघेरामा राखेर उल्लेख गरिरहनुभन्दा सृजनशीलताको फरकपनका लागि ती काम इतिहासमै उल्लेख्य थिए र आजपर्यन्तै ‘उडीजाउँ भने म पक्षी होइन’को उपनाममा शान्तिको यश फैलिरहेकै छ।

यदाकदा सृजनाका कुरामा भूगोल र राजनीतिक घेराबन्दीका अनेक सन्दर्भहरू जोडेर कित्ताकाट गर्ने काम हुँदै आएको भएपनि नेपाली भाषा–साहित्यमा सूधपा र सङ्गीतसृजनाका जगत्‌मा शान्ति ठटालको नाम यता वा उताको विभक्ति नजोडिकनै चिन्ने गरिएको छ।

मेरो  यो बुझाइ सबैका लागि स्वीकार्य हुन्छ भनेर सर्वमान्य रूपमा ठोकुवा गरेरै म भन्न चाहन्न तर कम्तिमा मेरा हकमा यी नामहरू साझा नेपालीको अर्थमा मान्य छन्, उत्तिकै प्रिय पनि छन्। रवीन्द्र भारतीय सङ्गीतको अध्ययन र त्यही प्रभावको अभ्यास रहेर पनि गीतसङ्गीतको सृजनात्मक जगत्‌मा ठेट नेपालीपन तथा कतिपय प्रयोगमा रैथाने लोकलयको झलक दिन सक्नु शान्ति ठटालको अर्को विशेषता हो।

‘नेपाल मेरो सम्झने पितृथलो’, दार्जीलिङ म जन्मेको म बाँच्ने थलो भनेर अपनत्व र आत्मीयतामा आफ्नो थातथलो सम्झिरहने शान्ति ठटालका २ सयभन्दा बढी गीतसङ्गीतले सही अर्थमा नेपालभारतबीचको युगौंदेखि जोडिएर रहेको गहनतम साङ्गीतिक सांस्कृतिक र सभ्यतागत साइनोलाई पनि एउटै सूत्रमा बुन्ने काम गरेको छ।

हुन त बहसमा उत्रन र वादविवादमा रमाउन चाहने एउटा वर्गले सधै ब्युँताउने गरेको विषय हो- जीवनका लागि सङ्गीत कि सङ्गीतका लागि जीवनर? सङ्गीत कर्म र निरन्तरको साधनाका क्रममा शान्ति ठटालले आफ्नो सम्पूर्ण जीवन साधना र सृजनामै बिताउनुभएको छ।

८ दशक पार गरेको यो उमेरमा पनि उहाँको सृजनशीलता र सक्रियता स्तुत्य छ। सङ्गीतको रागरागिनी र आरोह अवरोहमा हराएरै जीवनसाथी पहिल्याउन समेत भुल्नुभएकी शान्ति ठटालका हकमा ‘जीवनका लागि सङ्गीत’ बढी श्रेयस्कर पगरी उपयुक्त हुन्छ कि जस्तो लाग्छ।

आफ्नो जीवनकालमै सङ्गीत–साधना र सृजनामा किंवदन्तीझैं बन्नुभएकी शान्ति ठटाल यो कोरोना कहर बीच यस विद्वत् वर्गलाई साक्षी राखेर मैले आफ्नो सीमित अध्ययन र अनुभवका आधारमा सम्मानित स्रष्टा शान्ति ठटालज्यूको समय, कालको वरिपरि नै रहेर आफ्ना भनाइहरू उद्धृत गरेको छु।

केही तल माथि भए क्षमा गर्नुहुनेछ। मलाई यस गरिमामय सभामा आफ्नो भनाइ राख्ने अवसर दिनुभएकोमा मदन पुरस्कार गुठीप्रति कृतज्ञता ज्ञापन गर्दछु र अन्त्यमा म जगदम्बाश्रीबाट सम्मानित श्रद्धेय शान्ति ठटालज्यूमा हार्दिक बधाई टक्रयाउँदै वहाँको  सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु। अस्तु।

(मदन पुरस्कार गुठीले जगदम्बाश्री सम्मान संगीतकार-गायिका शान्ति ठटाललाई अर्पण गर्ने घोषणा गरेको थियो। कोभिड–१९ को असहज अवस्थाका कारण भर्चुअल रुपमै पुरस्कार घोषणा कार्यक्रम गरिएपछि पुरस्कार वितरण भने हुन सकेको थिएन । गुठीले १ फागुन, शनिबार भारतको सिलीगुडीमा एक कार्यक्रम आयोजना गरी जगदम्बाश्री पुरस्कार विजेता ठटाललाई सम्मानित गर्‍यो। कार्यक्रममा गायकर-संगीतकार गणेश रसिकले व्यक्त गर्नुभएको विद्वत् प्रवचन)

प्रकाशित: Feb 13, 2021| 11:25 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।