सोमबार, जेठ २७, २०८२

अब के गर्ला कांग्रेस ? 

सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ। 
 |  बुधबार, फागुन १२, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, फागुन १२, २०७७

काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। योसँगै सर्वोच्चले १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश समेत दिएको छ।  

सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ। 

यस्तो अवस्थामा कांग्रेस कसरी अघि बढ्छ त? कांग्रेस सह–महामन्त्री डा. प्रकाश शरण महत भन्छन्, ‘हामी पर्ख र हेरको अवस्थामा छौं।’ उनका अनुसार नेकपा विभाजन हुँदैन, विवाद साम्य हुन्छ। र कांग्रेसको भूमिका प्रतिपक्षी दलकै रुपमा हुनेछ। 

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताका आधारमा राजीनामा दिन चर्को दबाव परिरहेको छ। यद्यपि, ओलीका सल्लाहकारहरुका अनुसार ओली राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामना गर्ने मुडमा छन्। 

ओली नेतृत्वको सरकारको बहिगर्मनको यात्रा तय गर्न र नयाँ सरकार निर्माण गर्न गणितीय हिसाबमा कांग्रेस निर्णायक देखिन्छ। तर, उसको आगामी रणनीति के हुन्छ भन्ने चाहिँ प्रष्ट भइसकेको छैन।  

फैसला लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको थियो भने बुधबार दाहाल र माधवकुमार नेपालले देउवासँग भेटेरै छलफल गरेका छन्। 

भावि सरकारको नेतृत्व लिन दाहालले देउवालाई यससअघि पनि प्रस्ताव गरिसकेका छन्। तर, देउवा र कांग्रेस नेताहरु यसबारे अझै खुलिसकेका छैनन्।

सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै दाहालले अब प्रधानमन्त्री ओलीसँग एकता हुने कुनै सम्भावना नहेको र सहकार्य समेत हुन नसक्ने बताएका छन्। 

यस्तो अवस्थामा नेकपा औपचारिकरुपमै विभाजन भयो भने सरकार जोगाउन वा बनाउन कांग्रेसको समर्थन आवश्यक पर्छ। त्यो बेलामा कांग्रेसको भूमिका के हुन्छ त? सह–महामन्त्री महत भन्छन्, ‘हाम्रो प्राथमिकता सरकारमा जाने हुन हुँदैन। अब रह्यो कसलाई समर्थन गर्ने भन्ने। हिजो सबै मिलेर संविधान मिच्न लागेकै हुन्। कुन पक्षलाई समर्थन गर्ने भन्ने कुरा पार्टीले निर्णय गर्ला। तर हामी सरकारमा जान हुँदैन।’ 

दाहाल–नेपालले देउवा प्रधानमन्त्री बन्ने बताइरहँदा ओली पक्षीय नेता महेश बस्नेतले भने कांग्रेसकै सहयोगमा ओली नै प्रधानमन्त्री बन्ने बताएका छन्। त्यो सम्भावना कति छ त? महत भन्छन्, ‘हाम्रै नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यही बेलामा निर्णय हुनेछ। अन्यथा हाम्रो जोड सरकारमा जाने होइन।’

महत मात्रै होइन नेता मिनेन्द्र रिजाल पनि अबको राजनीतिक कोर्स नेकपा विवाद कसरी अघि बढ्छ, त्यसमै भर पर्ने बताउँछन्। खासगरी दाहाल–नेपालको भूमिकाले धेरै अर्थ राख्ने रिजालको भनाइ छ। 

नेकपा दुई खेमामा बाँडिए पनि आधिकारिकरुपमा दुई पार्टी बनिसकेको छैन। सोही कारण कांग्रेसले नेकपाको विवाद नयाँ परिस्थितिमा कसरी अगाडि बढ्छ, चासोका साथ हेरिरहेको छ। 

‘अब नेकपाको विवाद कसरी अघि बढ्छ, त्यो हेर्नुपर्छ। संसदीय दलमा नेता छान्ने कुरा होला। दाहाल–नेपाल कसरी अघि बढ्छन्, त्यो हेर्नुपर्छ,’ रिजाल भन्छन्, ‘नेकपा दुईवटा भयो भने मात्र नयाँ सरकारको कुरा आउला। एकै रह्यो भने नेकपाकै सरकार बन्ला।’ 

उनले कांग्रेसको भूमिका यिनै विषयसँग जोडिने बताए। ‘नेकपा विवाद कसरी अघि बढ्छ। त्यही अनुसार हामी सरकारमा जाने, नजाने वा सरकार बनाउने बारेमा सोचौंला,’ उनले भने, ‘होइन भने अहिले हामी प्रतिपक्षी दल हौं।’ 

कांग्रेसले सर्वोच्चको फैसलापछि औचपारिकरुपमा छलफल गरिसकेको छैन। केन्द्रीय समिति बैठक बोलाएर आगामी रणनीतिका बारेमा छलफल हुने बुझिएको छ। 
 

प्रकाशित: Feb 24, 2021| 08:29 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।