विराटनगर– प्रदेश १ सरकारको पहिलो गौरवको आयोजना विराटचोक–घिनाघाट चार लेनको सडक निर्माण बजेट अभावमा अवरुद्ध भएको छ।
प्रदेश राजधानी विराटनगर जोड्ने २२.७ किलोमिटर सडक २०७८ असार मसान्तमा सम्पन्न गर्ने गरी प्रदेशको नमुना सडकका रुपमा प्रदेश १ सरकारले काम अघि बढाएको थियो।
सडकको शिलान्यास मुख्यमन्त्री शेरधन राईले गत भदौमा गरेका थिए।
सडकको भौतिक प्रगति ४२ प्रतिशतमा पुगेपछि सडक निर्माणकार्य रोकिएको छ।
बजेट अभावमा निर्माण कार्य रोकिएको निर्माण पक्षले जनाएको छ। सडक वित्तीय प्रगति भने ३३ प्रतिशत छ ।
ठेकेदार कम्पनी रमन–श्रेष्ठ जेभीले एक महिना अगाडि कार्यालयमा निवेदन दिएर काम रोक्ने निर्णय गरेको थियो।
आगामी वर्षको असारसम्ममा २० किलोमिटर सम्पन्न गर्ने योजना रहेको यो सडकबाहेक अन्य पूर्वाधारका कामका लागि आवश्यक पर्ने बजेट अभाव देखिएको हो।
पूर्वाधार कार्यालयको एक अर्ब ६३ करोड सिलिङ बजेटमध्ये ८८ करोड रुपिँया मात्रै अहिलेसम्म प्राप्त भएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले परिपत्र नै गरेर ५० प्रतिशत बजेट मात्रै खर्च गर्ने गरी योजना अगाडि बढाउन निर्देशन दिएको थियो।
त्यसैअनुसार कार्यालयले गत आर्थिक वर्षको सरेर आएको दायित्वको भुक्तानी गरेको थियो। चालू आर्थिक वर्षमा नयाँ योजनाका लागि रकम अभाव भएका कारण नयाँ बोलपत्र भने खुलाइएको छैन।
बजेट अभावकै कारण पूर्वाधार योजना प्रभावित
बजेट अभावकै कारण प्रदेश १ का पूर्वाधार योजना प्रभावित बन्दै गएका छन्। प्रदेश १ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण सडकका सबै योजना बजेट अभावकै कारण स्थगित गरिएका छन्।
मुख्यमन्त्री ग्रामीण सडक पूर्वाधारका रुपमा प्रदेशभर ८६ योजना आर्थिक वर्ष २०७५÷२०७६ देखि सुरु गरिएको थियो।
जसमध्ये ४० प्रतिशत वित्तीय प्रगति भइसकेका योजना चालू आवमा भने स्थगित गरिएको हो।
यी सडक पूर्वाधार योजनाअन्तर्गत १२ किलोमिटर सडक कालोपत्रे, ५१ किलोमिटर ग्राभेल र १६५ किलोमिटर कच्ची सडकको काम भइसकेको प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी एवं इन्जिनियर ओमप्रकाश साहले जानकारी दिए।
भुक्तानी असन्तुलनका कारण गत आर्थिक वर्षको सालबसाली तथा उपभोक्ता समितिमार्फत अगाडि बढाइएका योजनाको अझै २३ करोड रुपैयाँ निकासा गर्न बाँकी छ।
चालू आवका लागि बहुवर्षे योजना, सालबसाली, उपभोक्ता समिति समेतबाट निर्माण बढाइएका योजनाको मात्रै चार अर्ब रुपैयाँ भुक्तानी सरेर आएको सूचना अधिकारी साहले बताए।
मोरङ र सुनसरीलाई हेर्दै आएको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीका अनुसार बजेट अभावका कारण प्रदेश गौरवको योजना घिनाघाट–विराटचोक सडक प्रभावित बनेका छन्।
मोरङ र सुनसरीमा २२ वटा सडक, १२ वटा पुल र ११ वटा झोलुंगे पुल बहुवर्षे योजनामा थिए। यी योजनाहरुको कामसमेत प्रभावित भएको प्रमुख रेड्डीले बताए।
घिनाघाट–विराटचोकको २२ किलोमिटर सडक निर्माणबाहेक अन्य योजना अहिले प्राथमिकताबाट हटाइएको छ।