धनगढी- कैलालीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योग जलेर खरानी भएको छ।
धनगढी उप–महानगरपालिका–४, चटकपुरमा उद्घाटनको अन्तिम तयारीमा रहेको आलोक मल्टी कन्सर्न फर्निचर उद्योग आज (शनिबार) अपरान्ह आगलागी हुँदा जलेर खरानी भएको हो।
धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिकालगायतको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको प्रयासमा आगो नियन्त्रण आएको छ। आगो नियन्त्रण आए पनि उद्याेग सबै जलेर खरानी भएको छ।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको उद्योगमा आगलागी हुँदा तीन करोड बढीको क्षति भएको बताइएको छ।
फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको उद्योगमा हालसम्म ३ करोड लगानी भइसकेकोमा उद्घाटनसम्ममा पाँच करोड लगानी थपिसक्ने अनुमान सञ्चालकहरुको थियो।
उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थिए। अगाडिको भागमा शो रुम र पछाडिको भागमा उद्योग रहेको सो उद्योगमा २२ जना कामदार कार्यरत थिए।
उद्योग भएको स्थानमा वेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आगलागी भएको फर्निचर उद्योगबाट बढीमा १०० मिटर पश्चिममा नेपाल आयल निगमको डिपो रहेको थियो।
हावा चलेको भए आयल निगमको डिपोमा भण्डारण गरेको पेटोलियम पदार्थमा समेत आगो लाग्न सक्ने प्रबल सम्भावना रहेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले क्षतिको एकिन विवरण आइनसकेको बताए।
आगलागी हुनुअघिका तस्बिर (अन्तिमका दुईवटा)