जनकपुरधाम- जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले आजको सीता बन्न महिलाहरुलाई आग्रह गरेका छन्। पछिल्लो समय सीता बन्ने कि नबन्ने विषयमा बहस चलिरहेको समयमा नेता गिरीले सीता बन्न आग्रह गर्दै आजको सीता बन्नु पर्ने बताए।
केही साताअगाडि राजधानी काठमाडौँमा एक युवतीले ‘हम सीता नै बनब’ शीर्षकमा कविता प्रस्तुत गरेपछि उनको सामाजिक सञ्जालमा विरोध र समर्थन भएको थियो। तर जारी जनकपुर साहित्य महोत्सवमा पत्रकार मनिका झाले म सीता बन्छु एक सत्रमा भनेपछि महिलाहरुबीच सीता बन्ने कि नबन्ने वहस चलेको छ।
सोही बहसका बीच सीता विमर्श नामक सत्रमा प्रवचन दिँदै नेता गिरीले रामायणको पात्र सीता क्रान्तिकारी र स्वभामानी चरित्र रहेकोले सीता बन्नु पर्छ। सीता साहस र धैर्यको बीचमा आत्सम्मानको अदभूत मूर्ति हुन्, गिरीले भने ‘सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्ने वहस चलिरहेको छ। अगाडि भने ‘म त सीता बन्न आग्रह गर्छु तर हिजोको सीता होइन आजको सीता बन्नु पर्छ।’
उनले आजको युगमा सीता बन्नु सहज नरहेको भन्दै तत्कालीन समयमा सीताले समाज विकासका लागि देखाएको त्याग र तपस्या अनुकरणीय रहेको बताए। ‘यद्यपि रामायणका केही दृश्यलाई मात्रै टेकेर सीता र रामको सम्पूर्ण चरित्रको वर्णन गर्नु अन्यायपूर्ण हुन्छ’, उनले भने ‘यहाँ सीताका लाजवन्ती स्वरुपलाई मात्रै किन दर्शाइन्छ, किन उनको क्रान्तिकारी छवि लुकाइन्छ यो बहसको विषय हो।’ सीताको साहसिक र वास्तविक चरित्र लुकाइएका कारण सम्पूर्ण नारी जगतमा सीता बन्ने कि नबन्ने वहस चलिरहेको गिरीले स्वीकार गरे। उनले जुन दिन सीताको चरित्रलाई सम्झिन सक्यौँ त्यो दिन सम्पूर्ण नारी जगत म को हुँ भन्ने प्रश्नको जवाफ सहजै पाउन सक्ने उनको भनाइ थियो।
नेता गिरीले आफ्नो प्रवचनका क्रममा रामायणका अधिकांश नारी पात्रको विषयमा वर्णन गरेका थिए। उनले रामायणका नारी पात्रलाई वर्णन गर्दै सीतालाई तत्कालीन समयका सर्वश्रेष्ठ नारीको रुपमा प्रस्तुत गरे।
आफ्नो प्रवचनको क्रममा नेता गिरी वर्तमान राजनीतिक परस्थिति र प्रधानमन्त्री ओलीमाथि पटकपटक कटाक्ष गरेका थिए। नेता गिरीले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गर्दै भने ‘यहाँ हिन्दी बोलियो भने त्यो अपराध हुन्छ तर अयोध्या यहीँ ल्याए अपराध हुँदैन।’