काठमाडौं- जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा जसपाको संसदीय दलको बैठक सुरु भएको हो।
बैठकले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। साथै बैठकले गठबन्धन सरकार निर्माणका लागि नेकपा एमालेसँग वार्ता गर्न गठित कार्यदलमा थप एकजना सदस्य मनोनित गर्ने बताइएको छ।
संसदीय दलको बैठक सुरु हुनुअघि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले छुट्टाछुट्टै छलफल गरेका थिए।
सरकार निर्माणका लागि जसपा निर्णायक शक्ति बनेपछि उसले गठबन्धन सरकार निर्माणका लागि आफ्नो तयारी थालेको हो।
यसअघि हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेका नेताहरुसँग जसपा नेताहरुको छलफल भएको थियो।
छलफलमा जसपाले संविधान संशोधन, मधेश आन्दोलनका मुद्दा फिर्ता, सांसद रेशम चौधरीको रिहाइलगायतका सर्तहरु अघि सारेको थियो। ती सर्तहरुमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको जसपाले वार्ताका लागि बनाएको कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले बताए।
आज संसदीय दलको बैठकपछि जसपाको कार्यदल र नेकपा एमालेले बनाएको कार्यदलबीच वार्ता हुनेछ।
एमालेले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा नेता सुबास नेम्वाङ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।
जसपाको कार्यदलमा हाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।