बुटवल- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस अब मौनतामा बस्न नहुने बताएका छन्।
कांग्रेसको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाण्डाले अब कांग्रेसले मौनता साध्न नहुने बताउँदै तत्त्काल निर्णय गर्नुपर्ने बताए।
राज्य टेलिभिजनले शुक्रबार बुटवलमा आयोजना गरेको ‘मानव अधिकारको प्रवर्द्धन र लोकतन्त्रको सवलीकरणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खाँणले अब निकास निकाल्ने गरी कांग्रेसले भूमिका खेल्ने बताए।
‘मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको छ, यसका लागि हामीले निकास दिनैपर्छ’ उनले भन। उनले संविधान र लोकतन्त्रलाई कमजोर बनाउन खोज्नेहरुसँग सहकार्य हुन नसक्ने ठोकुवासमेत गरे। नेपाली कांग्रेस अलमलमा रहेको भनेर चर्चा भइरहेको बेला देउवा निकट मानिने खाँणले अग्रसरता लिने बताएका हुन्।
बर्तमान सरकार बनेदेखि नै संविधानको मूल्य मान्यता र मर्ममाथि प्रहार गरेको उनको आरोप छ। मुलुकमा पटकपटक ठूला राजनीतिक परिवर्तनहरु भए पनि परिवर्तनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुन नसकेको उनको भनाइ छ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमले जनतामा निरासा बढेर गएकोले त्यसले ठूलो बिद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे।
कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा.बुद्धबहादुर थापा, संबिधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाईले बोलेका थिए।