काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले वरिष्ठ नेता माधव नेपाल र आफूलाई निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयलाई कुकृत्य भनेका छन्।
सोमबार साँझ ट्विट गर्दै नेता रावलले ओलीको यो कदमलाई निरंकुश र स्वेच्छाचारी कुकृत्य भन्दै पूर्णरुपमा अस्वीकार गर्ने बताएका छन्।
नेता रावलले ट्विटमा भनेका छन्, ‘केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो।’
उनले अगाडि थपेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो। देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो।’
रावलले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयम् अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्ने बताएका छन्।