काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले आगामी बजेटमा कन्जुस्याई नगरी सुरक्षा क्षेत्रमा बजेट बिनियोजन गरिनुपर्ने बताएका छन्।
बुधबार गृहमन्त्रालयमा आ.व.२०७७/७८ को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पुरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरिनुपर्ने बताए।
सुरक्षामा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताउँदै गृहमन्त्री थापाले सुरक्षामा लगानी गर्न लोभ गर्न नहुने बताए।
उनले भने, ‘तथ्यांकले सीमामा बिओपीको संख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ। यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ।’
गृह मन्त्रालय र सोअन्तर्गतका निकायहरुको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको बताउँदै कार्यशैली परिमार्जन गर्न गृहमन्त्रीले कर्मचारीहरुलाई निर्देशन दिए।
उनले भने, ‘हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पुरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन।’
बैठकमा गृहसचिव महेश्वर न्यौपानेले गृह मातहतका निकायहरुको दोस्रो चौमासिक अवधिसम्म पूँजिगत खर्च कम भएको तथा बेरुजु फछ्र्यौट कम भएको भन्दै त्यसमा गुणत्मक परिवर्तन हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए।
बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए।