गणेशराज जोशी सुदूर धर्तीमा बसेर नेपाली साहित्यमा कलम चलाउँदै आएका स्रष्टा हुन्। जोशीका यसअघि ‘मान्छे र फूल’ निबन्धसंग्रह र ‘सुदूरपश्चिमका उखान’ गरी दुई कृति प्रकाशित भइसकेका छन्। जोशी समालोचना लेखनमा पनि उत्तिकै दखल राख्छन्। दार्चुलामा जन्मिएर कैलालीलाई कर्मथलो बनाएका जोशी कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छन्। ‘मधुवन’ उनको हालै प्रकाशित निबन्धसंग्रह हो। सोही कृतिमा आधारित रहेर जोशीसँग गरिएको पुस्तक संवाद :
पुस्तकको शीर्षक ‘मधुवन’ नै कसरी संयोजन भयो र यसमा कस्ता खाले निबन्ध छन्?
यसअघि प्रकाशित पुस्तक ‘मान्छे र फूल’ निबन्धसंग्रहको शीर्षकको पहिलो अक्षर पनि म थियो। त्यसले राम्रै लोकप्रियता आर्जन गर्यो र पुरस्कृत पनि भयो। मैले मनमनै मेरा लागि ‘लक्की’ महसुस गरें। अर्को कृति निकालेपछि त्यसको नामकरण पनि मबाटै राख्छु भन्ने सोचेको थिएँ।
अर्को कारण के हो भने मधुवन ऐतिहासिक तथा पौराणिक उपवन हो। यसले अतीतलाई सम्झाउँछ र प्रकृतिलाई रुचाउँछ। यस अर्थमा मधुवन नाम राखिनुको पछाडि स्वच्छन्दतावादी चेतनाले पनि काम गरेको हुन सक्छ।
डा. माधव पोखरेल सरले भूमिकामा उल्लेख गरेअनुसार मधुवनमा अस्मिता, व्यक्तित्व र नियात्रा गरी तीन किसिमका निबन्ध छन्। जसमध्ये अस्मिता र नियात्रासम्बन्धी निबन्धको संख्या बढी छ।
निबन्धहरू आत्मपरक वा वस्तुपरक कुनचाहिँ बढी छन्। या यात्रा संस्मरण पो धेरै छन् कि?
मैले माधव पोखरेल गुरुकै भनाइ साभार गर्न चाहें। मधुवनमा संकलित अधिकांश निबन्धको शीर्षक चयन आत्मपरक निबन्धका लागि उपयुक्त हुने खालका छन्। प्रस्तुति हेर्दाचाहिँ वस्तुपरक निबन्धका नजिक छन्। मलाई के लाग्छ भने विषयको उठान निजात्मक किसिमले गरे पनि वैचारिकतालाई आत्मसात् गर्न खोज्दा केही निबन्धमा आत्मपरकता र वस्तुपरकताको मिश्रण छन्। यात्रा संस्मरणमा आधारित निबन्ध पनि थुप्रै छन्। यसरी मधुवनमा मिश्रित (आत्मपरकता र वस्तुपरकताको मिश्रण), आत्मपरक एवम् नियात्रा गरी मुख्य तीन किसिमका निबन्ध संकलित छन्।
निबन्धभित्र नियात्रा, संस्मरण र कतिपयले जीवनीलाई पनि लिने गरेको पाइन्छ। यी एकै विधा हुन् र? होइन भने छुट्ट्याउनुपर्ने विषयमा यहाँको धारणा के छ?
नियात्रा, संस्मरण र जीवनीमा तात्त्विक भिन्नता हुन्छ। नियात्राले घुमफिर वा यात्रा वृत्तान्तलाई समातेको हुन्छ। यसमा भ्रमण गरेको कारणले अनुभूतिको अभिव्यक्ति दिइन्छ। संस्मरण यात्राको हो भने नियात्रासित केही मेल खाला। आफ्नै जीवनका अनुभवको संस्मरण हो भने त्यसमा अनुभूति प्रबल हुन्छ। जीवनीमा व्यक्ति केन्द्रमा रहन्छ। यस्ता निबन्ध प्रशंसामूलक नै हुने गर्छन्।
तपाईं त समालोचक पनि हुनुहुन्छ। समालोचकीय दृष्टिकोणबाट आफ्नो कृतिलाई मूल्यांकन गर्न कत्तिको सजिलो हुँदो रहेछ?
समालोचना पनि साहित्य हो तर यो द्रष्टा साहित्यभित्र पर्छ। सिर्जनात्मक साहित्यले चाहिँ भावना, संवेदना र अनुभूतिलाई महत्त्व दिन्छ। कहिलेकाहीं मभित्रको समालोचकले मेरो सिर्जनालाई दशानिर्देश अथवा हस्तक्षेप गरेको अनुभव हुन्छ। कृतिको रचनागर्भको राम्रो जानकारी भए पनि आफ्ना कृतिको आफैंले समालोचना गर्नु कठिन हुन्छ र वैधता तथा विश्वसनीयताको प्रश्न पनि उठ्न सक्छ।
निबन्ध लेखन नै रोज्नुको कारण के होला?
लेखकलाई जुन विधामा पोखिन सजिलो लाग्छ, उसले त्यही विधा रोज्ने हो। मलाई निबन्धमा व्यक्त हुन सजिलो लाग्छ। कनीकुथी लेख्नु भन्दा आफूलाई सहज लाग्ने विधामा कलम चलाउनु राम्रो हो। आफ्ना भावना निबन्धबाट पोख्न सजिलो हुने भएकाले मैले यो विधा रोजेको हुँ।
नेपाली निबन्ध विधामा धेरै कृति लेखिएका छन्। तीमध्ये थोरैले मात्र उचाइ प्राप्त गरेको भेटिन्छ। तपाईंको यो निबन्धले उचाइ लिने आधार के देख्नुभएको छ?
मेरो विचारमा जुनसुकै पनि कृतिको उचाइको आधार शाश्वतता र जीवन्तता हो। जुनजुन रचनाको हामी सम्झना वा चर्चा गरिरहेका हुन्छौं, वास्तवमा ती शाश्वत हुनाले नै हो तर कहिलेकाहीं कृति जीवन्त र शाश्वत भए पनि ओझेलमा परेको हुन सक्छ।
त्यसका विभिन्न कारण हुन सक्छन्। मधुवन एउटा औसत कृति हो। हामीकहाँ त प्रकाशनकै समस्या छ। देशदेशावरका पाठकसमक्ष पुर्याउन सकेको भए पाठकले नै मधुवनको मूल्यांकन गरी के कति उचाइ दिने भन्ने निर्णय गर्थे होला। मेरा तर्फबाट मधुवन इमानदार प्रयासबाट लेखिएको निबन्धसंग्रह हो।
मोफसलमा रहेर साहित्य सिर्जना, प्रकाशन र पाठकसम्म पुग्न केकस्ता कठिनाइ भोगिरहनुभएको छ? ती कठिनाइ कसरी समाधान गर्न सकिएला?
एकदमै राम्रो प्रश्न गर्नुभयो। पहिलो कुरा त हामीले केन्द्रीकृत व्यवस्थाबाट विकेन्द्रीकरणतिर पाइला चालेको धेरै भएको छैन। त्यसमा पनि विकेन्द्रीकरणको प्रावधान बनेको छ। तर त्यसको कार्यान्वयन भएको छैन। शिक्षा, स्वास्थ्य र साहित्य अहिले पनि राजधानी केन्द्रित नै छन्। दोस्रो, मोफसल भन्नेबित्तिकै सीमित सम्भावना हुन्छन्। मोफसलका लेखकका लागि सबभन्दा ठूलो चुनौती प्रकाशक नपाउनु हो।
निजी प्रकाशन गृहहरुको दृष्टिकोण नाफामुखी हुने नै भयो। व्यावसायिक दृष्टिले आख्यान र जीवनीबाहेक अन्य विधाको बजार छैन भन्ने प्रकाशकको बुझाइ रहेछ। एक त मोफसलको, त्यसमा पनि गैरआख्यान विधाको लेखकका लागि लेख्नु र प्रकाशन गर्नु निकै चुनौतीपूर्ण हुँदो रहेछ। प्रकाशन र वितरणको सन्तुलन नमिलेपछि साहित्यका अनुरागीसम्म पनि पहुँच पुग्दैन।
अब मोफसल या प्रदेशस्तरमा पनि व्यावसायिक प्रकाशक आउनुपर्छ। एउटा पुस्तक निकाल्नेबित्तिकै राष्ट्रिय लेखकमा गणना गरिनुपर्छ भन्ने मेरो भनाइ होइन तर पाठकसम्म पहुँच नपुग्दासम्म मोफसलका लेखकले संघर्ष गरिरहनुपर्ने अवस्था देखिन्छ।
उसो भए मोफसलमा बसेर साहित्यमा स्थापित हुन पनि कठिन छ, हैन?
मोफसलबाट पनि स्थापित हुन नसकिने होइन। जीवन र जनजीवनको राम्रो बुझाइका लागि त केन्द्रभन्दा मोफसल नै उर्वर हुन्छ! केन्द्रमा भए अलि छिटो होला, मोफसलबाट अलि ढिलो होला। खाने मुखलाई जुँगाले छेक्दैन भने झैं प्रतिभा भए मोफसलबाट पनि उदाउन र स्थापित हुन सकिन्छ।
‘मधुवन’ निबन्धसंग्रह पाठकले किन पढिदियून् जस्तो लाग्छ?
मधुवनले पाठकहरूको पैसा असुल गर्छ। पाठकहरुलाई मैले मधुवन किन किनें हुँला भन्ने लादैन यसमा निबन्धका अंगउपांग मिलेका छन्। विषयवस्तु विविध किसिमका छन्। प्रस्तुति आकर्षक छ र उद्देश्य मनोरञ्जन दिने खालको छ। मधुवनका पाठकले फुक्र्याएको भए थाहा छैन, नत्र मधुवनबारे प्रतिक्रिया नुनपिरो मिलेको भोजन जस्तो स्वादिलो छ भन्ने पो छ त! आत्मपरकता, वस्तुपरकता, नियात्रा र मिथकीय प्रस्तुतिले मधुवन ‘मधुवन’ भएको छ। एक जना समीक्षक तुलसी शर्माले मधुवनको समीक्षा गर्दै यसले एउटा उपहार मनको गुलाबलाई र अर्को उपहार मस्तिष्कको गुलाबलाई दिएका टिप्पणी गर्नुभएको छ।