काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले २०२१ को अप्रिल तेस्रो सातादेखि हुने घोषणा गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम भारतबीचको मैत्रिपूर्ण टी-२० र एक दिवसीय सिरिज स्थगित भएको छ।
क्यानले गत हप्ता सम्पन्न बोर्ड बैठकमा भारतको उत्तराखण्डसँग टी–२० र एक दिवसीय मैत्रीपूर्ण महिला क्रिकेट आयोजना गर्ने निर्णय गरेको थियो। आइतबार बसेको बैठकले आगामी अप्रिल तेस्रो साताबाट मैत्रीपूर्ण खेल खेलाउने निर्णय गरेको क्यानले जानकारी दिएको थियो।
तर, आज अर्को विज्ञप्ती जारी गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो।
क्यनले सोही बैठकबाट डेढ वर्षदेखि रिक्त महिला राष्ट्रिय टिमको प्रशिक्षकमा जगत टमटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
मैत्रीपूर्ण खेल आयोजना गर्ने निर्णय भए पनि क्यानले अहिलेसम्म महिला टिमको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट भने गरेको छैन।