धनगढी - कैलालीमा थप एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार धनगढी उपमहानगरपालिका–३, मिलन चोककी ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुगर र प्रेसरको बिरामी रहेकी उनलाई श्वाशप्रश्वासमा समस्या भएपछि मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
कोरोनाको दोश्रो लहर चैत यता सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ९ जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनले हालसम्म सेती अस्पतालमा उपचारको क्रममा ४१ जना कोरोना संक्रमितको उपचार भएको बताए।