धनगढी- कोरोना संक्रमितको उपचारको लागि कैलालीका निजी अस्पतालले वार्ड सञ्चालनमा ल्याउने भएका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा कैलालीका निजी अस्पतालले कोरोना संक्रमितको उपचारको लागि वार्ड सञ्चालनमा ल्याउन लागेका हुन्।
निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले जिल्लाका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ देखि १० बेडसम्म सञ्चालनमा ल्याउने प्रदेश सरकारसँग सहमति भएको बताए।
संक्रमितको उपचार गर्न अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०-१० बेड उपलब्ध गराउने भएका छन्। धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र ओम आशा अस्पतालले ५-५ बेड उपलब्ध गराउने अध्यक्ष जोशीले बताए।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सरकारी अस्पतालमा दिइरहेको सेवा निजी अस्पतालबाट दिइने र सोको खर्च सरकारले व्यहोर्ने बताए। सामान्य प्रकृतिको भए प्रतिदिन प्रतिबिरामीको उपचार खर्च ३ हजार ५ सय र जटिल लक्षण भएका बिरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले निजी अस्पताललाई उपलब्ध गराउने प्रवक्ता नरेन्द्र कार्कीले बताए।
कोभिड–१९ रोकथाम, नियन्त्रण एवम् उपचारलाई व्यवस्थित गर्न प्रदेश सरकारले सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियामा ४० वेडको कोभिड वार्ड सञ्चालन गर्न सम्झौता भई सेवा सुरुको प्रक्रियामा, धनगढीमा थप ५० बेडको कोरोना अस्पताल निर्माण भइरहेको, निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल संचालनको तयारी भइरहेको प्रवक्ता कार्कीले बताए।
अक्सिजन प्लान्ट स्थापना, अक्सिजन कन्सेनटेटर खरिद एवम् सिलिन्डरको सहज आपूर्तिका लागि दैनिक एक सय सिलिन्डर धनगढीका ग्यास उद्योग र एक सय सिलिन्डर नेपालगञ्जबाट दैनिक आपूर्ति गर्ने गरी व्यवस्था मिलाउने कार्य भइरहेको कार्कीको भनाइ छ। स्वास्थ्य सेवाको प्रवाहलाई सहज बनाउन रिक्त दरबन्दी एवम् थप आवश्यक पर्ने स्वास्थ्यकर्मीलगायत अन्य जनशक्ति करार सेवामा लिन सम्बन्धित कार्यालयलाई पत्राचार गरी प्रक्रिया सुरु भएको उनले बताए।
कोरोनाको दोश्रो लहरसँगै कोरोना संक्रमितले कैलालीको सेती अस्पताल र कञ्चनपुरको महाकाली कोरोना अस्पताल भरिएका छन्।
पछिल्लो तथ्यांक अनुसार ५५ बेड क्षमता रहेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सोमध्ये तीन जनाको भेन्टिलेटर, ९ जनाको आइसियू र ३५ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको सअस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।