बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार राति सुरक्षा घेरामा सपथ लिएलगत्तै दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्रीले सोमबार (आज) दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले सांसद निलम्बन भएका कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रुपमा मन्त्रीमण्डल विस्तार गरेका छन्।
नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको शपथ खुवाए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। यसअघि आइतबार राति मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका थिए।
बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना मन्त्री, प्युठानका हरि रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्री, निलम्बनमा परेका सांसद सन्तोष कुमार पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्री र अर्का निलम्बनमा परेका सांसद विजय बहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका थिए।
अविश्वासको प्रस्तावको विपक्षमा उभिएर सरकार जोगाएका जसपाका ४ जनालाई पहिलो प्राथमिकतामा राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले एमालेको एकल बहुमतको सरकारअनुसार संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्त भई सपथ लिएका हुन्। तर, मन्त्रिमण्डलमा भने सांसद नै नरहेका जसपाको कारबाहीमा परेका नेताहरु पहिलो छनोटमा परेका छन्।