सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सरकारले ल्याउन नसकेको अक्सिजन बिरामीले कसरी ल्याउने? 

सरकारले ल्याउन नसकेको अक्सिजन बिरामीले कसरी ल्याउने? 

एकातिर उपत्यकाकै केही अस्पतालका आँगन, पिँढी, बरण्डालगायत कोरोना संक्रमितले भरिएका छन्। संक्रमितलाई राख्ने ठाउँसमेत छैन, अर्कोतर्फ सरकारसँगै कोरोनाको उपचार गर्छु भनेका अस्पतालले भर्ना भएका बिरामीलाई समेत समय नपुगी डिस्चार्ज गरिदिएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख ३०, २०७८

काठमााडौं – बुधबार दिउँसो करिब साढे १२ बजे, पानी परिरहेको समय। नेपाल मेडिकल कलेजको प्राङ्गण छेउमा भिज्दै एक व्यक्ति मोटरसाइकलमा अक्सिजनको सिलिण्डर बाँध्दै थिए। मोटरसाइकलमा बाँधिएको अक्सिजन सिलिण्डर खस्न खोजेपछि नजिकै ओत लागेर बसेका सम्झाउन खोजे, ‘खस्ला है राम्ररी बाँध्नु!’

कतै नफर्की सिलिण्डर बाँधिरहेका व्यक्तिले भने, जीवन त खसिसक्यो, सिलिण्डर खसेर के भयो त? तैपनि अर्काको नासो पुर्‍याइदिनु त पर्‍यो। यो सिलिण्डरले अर्काको ज्यान जोगाउँछ कि।’ सिलिण्डर बाँध्दै गरेका व्यक्ति (कासाङ शेर्पा)ले बुधबार बिहान मात्रै कोरानाका कारण आफन्त (मामा) गुमाएका रहेछन्। मागेर ल्याएको अक्सिजन सिलिण्डर फिर्ता गर्न जाँदै थिए उनी।

कासाङले सोमबार राति मामालाई अस्पताल ल्याएका रहेछन्। आइपुगे पनि अस्पतालमा बेड र अक्सिजन नभएको भनियो, उनले भने, ‘भित्र ५ वटा बेड खाली थियो हामीले देखेका थियौँ तर बेड खाली छैन भन्दै हाम्रो बिरामी भर्ना गरिएन, बेड खाली देखेपछि मामालाई जबरजस्ती भर्ना गर्न लगाएँ। त्यसपछि फेरि अक्सिजन छैन भन्न थालियो। राति पनि अक्सिजन चाहिने जति दिइएन । भोलिपल्ट अक्सिजन सकियो भन्दै सूचना आयो।’

‘सूचना आउनुअगाडि नै अस्पतालले हामीलाई अक्सिजन ल्याउन भनिसकेको थियो, बिहानैदेखि ३० जना जतिलाई फोन गरी २ वटा सिलिण्डर जम्मा गरेँ, तर त्यो सिलिण्डरले पुगेन र मामाको आज (बुधबार) बिहानै मृत्यु भयो’, उनले भने। अस्पताल पुग्नासाथ मामाले राम्रोसँग अक्सिजन मात्रै पाएको भए बाँच्ने शेर्पा बताउँछन्। 

बुधबार गोकर्णेश्वर नगरपालिका अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पुग्दा अस्पताल सुनसानजस्तै थियो। अस्पतालको प्राङ्गणमा तीन चार जनामात्रै देखिन्थे। अस्पतालको यो दृष्य हेर्दा लाग्छ अस्पतालमा केही समस्या छैन, सबै ठिकठाक छ। तर यसको विपरीत अस्पतालमा केही पनि ठिकठाक छैन। अहिले अस्पतालमा कोरोना संक्रमित बिरामीलाई प्रवेश निषेधजस्तै छ। घण्टैपिच्छे एम्बुलेन्सको आवाज सुन्ने अस्पताल नजिकैका मानिसले मंगलबार बेलुकादेखि अस्तपलामा एम्बुलेन्स प्रवेश गरेको देखेका छैनन्। अस्पताल शान्त छ, बिरामी पुग्न पाएका छैनन्, चिकित्सकहरुलाई बिरामी लिन इमर्जेन्सी अगाडि आउनु परेको छैन।

सिलिण्डर बाँध्दै गरेका व्यक्ति (कासाङ शेर्पा)ले बुधबार बिहान मात्रै कोरानाका कारण आफन्त (मामा) गुमाएका रहेछन्। मागेर ल्याएको अक्सिजन सिलिण्डर फिर्ता गर्न जाँदै थिए उनी।

अस्पताल परिसरमा २ घण्टा बस्दा एउटामात्रै एम्बुलेन्स प्रवेश गर्यो, त्यो एम्बुलेन्स बिरामी ल्याएर होइन बिरामी लिन आएको थियो। 

एकातिर उपत्यकाकै केही अस्पतालका आँगन, पिँढी, बरण्डालगायत कोरोना संक्रमितले भरिएका छन्। कुर्सीमा बसेरै उपचार गरिरहेका छन्। संक्रमितलाई राख्ने ठाउँसमेत छैन भने अर्कोतर्फ सरकारसँगै कोरोनाको उपचार गर्छु भनेका अस्पतालले भर्ना भएका बिरामीलाई समेत समय नपुगी डिस्चार्ज गरिदिएका छन्।

अस्पतालले मंगलबार दिउँसो एक सूचना जारी गरेपछि अस्पतालको माहोल यस्तो बनेको हो। अस्पतालले मंगलबार बिरामी र बिरामीका आफन्तलाई एक निर्देशन दियो, ‘अस्पतालमा अक्सिजनको अभाव छ हामी प्रवन्ध गर्न सक्दैनौं, अक्सिजन आँफै मिलाउनुस् अथवा बिरामीलाई अन्य अस्पताल लैजानुस्।’ नेपाल मेडिकल कलेजले सूचना निकाल्दा अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । 

सूचनापछि अस्पतालका बिरामी तथा आफन्त आत्तिन थाले। अक्सिजनको जोहो गर्न उनीहरु यताउता भौंतारिन थाले। कतिले अक्सिजनको व्यवस्थापन गर्न सके, कतिले सकेनन्। २२ जना बिरामी अन्यन्त्र गए, तर उनीहरु कहाँ गए जानकारी छैन।

अस्पतालमा भर्ना भएका एक संक्रमितका आफन्त भन्छन्, बल्लबल्ल भनसुन गरेर बेड पाएका थियौँ फेरि अक्सिजन आफैले व्यवस्था गर्नु भनेको छ, सरकाले त नपाएको अक्सिजन हामीलाई कस्ले दिन्छर ? उनले थपे, ‘यो अस्पतालमा कति लापरबाही छ, अस्पतालका मान्छेका आफन्तलाई भनेर बेड राखिन्छ अरुलाई छैन भनिएको छ, भनसुन नगरी र आफ्नो मान्छे छैन भने अस्पताल आउँछु भन्ने नसोचे पनि हुुन्छ।’

नेपाल मेडिकल कलेज भित्रको सुनसान दृश्य। तस्बिर : ज्योति अधिकारी

संक्रमितको संख्या बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठ बताउँछन्। ‘अक्सिजन दिनुपर्ने बिरामी भर्ना लिन सकिएको छैन,’ श्रेष्ठले भने, उपाय नै नलागेपछि हामीले भर्ना नै बन्द गरेका हौँ। अक्सिजन नभएकै कारण धेरै दुर्घटना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भएको डा. श्रेष्ठले बताए। उनका अनुसार बुधबार जम्मा ४ जना बिरामीलाई भर्ना लिइएको छ।

कोरोना संक्रमण बढेपछि अस्पतालमा बिरामीको भिड लाग्न थालेको एक महिना भइसकेको छ। अस्पताल पुग्ने बिरामीलाई अक्सिजन बिना बचाउन कठिनप्रायः छ। 

संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजनको माग पनि बढ्न थालेको छ। प्रतिमिनेट ५० लिटरसम्म बिरामीलाई अक्सिजन चढाउनुपर्ने अवस्था अस्पतलामा देखिन्छ। बिरामीको संख्या बढ्दै गएपछि अस्पतालहरुले उपचार गर्न सकिँदैन भन्दै हात उठाएका छन्। 

नेपाल मेडिकल कलेज मात्रै होइन मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायूले अक्सिजन नभएकै कारण बिरामी लिने अवस्था नरहेको भन्दै आइतबार नै विज्ञप्ति निकालिसकेका छन्। यीलगायत अन्य अस्पतालले पनि अक्सिजन नभएको भन्दै सूचना जारी गरी नयाँ संक्रमितको भर्ना लिएका छैनन्।

अक्सिजन नपाएकै कारण संक्रमितको मृत्युदर पनि बढेको छ । सोमबार १३९ जना, मंगलबार २२५ र बुधबार १६८ को मृत्यु भएको छ। 

नेपाल मेडिकल कलेज मात्रै होइन मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायूले अक्सिजन नभएकै कारण बिरामी लिने अवस्था नरहेको भन्दै आइतबार नै विज्ञप्ति निकालिसकेका छन्।

मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अक्सिजन व्यवस्थापनको जिम्मेवारी सीसीएमसीले लिएको बताए । सीसीएमसीले अस्पताललाई अक्सिजन सिलिन्डरको कोटा तोकिदिएको छ । तर कोटाअनुसार पाएको अक्सिजन पर्याप्त नभएको निर्देशक श्रेष्ठ बताउँछन्।  कोटाअनुसारको अक्सिजनले बिरामीलाई नपुग्ने भन्दै अस्पतलाहरुले हात उठाएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका मात्रै उद्योगले अक्सिजन दिन नसकेपछि संक्रमण न्यून भएका ठाउँबाट भरेर ल्याउन थालिएको छ। स्वास्थ्यमन्त्री त्रिपाठीले अक्सिजनको उत्पादन क्षमता र मागमा अन्तर आएकाले व्यवस्थापन गर्न नसकेको बताएका छन् । हाल उपत्यकामा मात्रै दैनिक ८ हजार ५०० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको तर माग भने १२ हजार सिलिण्डर रहेकाले अभावको अवस्था देखिएको मन्त्रालयले जनाएको छ। 

अक्सिजनको समस्या व्यवस्थापन गर्न सरकारले अक्सिजन प्लान्ट थप गर्ने, लिक्विड अक्सिजन ट्यांक थप गर्ने तथा सिलिण्डरहरु ल्याउने काम गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। 

संकट परेको बेला समानुपातिक वितरण गर्दा उनीहरूलाई केही समस्या भएको हुन सक्ने प्रवक्ता गौतम बताउँछन्। ‘निजीले पूरा अक्सिजन पाउने बिरामी भर्ने। सरकारीले अक्सिजन नपाएर बिरामी भर्ना गर्न नपाउने अवस्था हुनु भएन भनेर हामीले समानुपातिक वितरण प्रणाली लागू गरेका हौं’, उनी भन्छन्, ‘सस्तो उपचार सरकारीमा हुन्छ। कोरोना उपचारको त पैसै लाग्दैन।’ जहाँ बढी बिरामी त्यहाँ बढी सिलिन्डर पठाइएको उनी बताउँछन्।

कोरोना संक्रमण र मृत्युदर बढेकाले अहिले सरकारले चालेको कदम पर्याप्त नभएको भन्दै मन्त्रालयले नयाँ कदम उठाउनुपर्ने बताएको छ। जनस्वास्थ्यविज्ञ डा. शरद वन्त भन्छन्, ‘सरकारले यति संक्रमित पुग्छन् भन्ने प्रक्षेपण मात्रै गर्‍यो त्यसको तयारी गरेन। संख्या गन्नुमात्रै सरकारको काम होइन, अक्सिजन नपाएर मर्नु कति पीडादायी हुन्छ? यो राज्यको अपराध हो।’

प्रकाशित: May 13, 2021| 02:37 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।