धनगढी - कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक जना पक्राउ परेका छन्।
सात ग्राम ५६० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेशप्रसाद जोशी पक्राउ परेका हुन्।
बेलडाँडी गाउँपालिका-३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका जोशीलाई पक्राउ गरेको हो। जोशीले भारतीय नागरिकबाट लागुऔषध लिएर आएको सूचनाको आधारमा चेकजाँच गरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीले जोशीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको बताएको छ।
जोशीको साथबाट सुदूर खबर दैनिककाे परिचय पत्र र पश्चिम नेपाल दैनिकको पास, दुई थान मोबाइल, एक थान क्यामेरा, पाँच थान बैंकको चेक र मोटरसाइकलको ब्लू बुक बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। उनले मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको बताए।