नयाँदिल्ली- अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उत्पादन गर्ने तयारी गरिएको छ। भारतीय कम्पनी बायोलोजिकल ई लिमिटेडले जोन्सन एन्ड जोन्सनको भ्याक्सिन उत्पादनका लागि तयारी अघि बढाइएको जानकारी दिएको छ।
बायोलोजिकल ईले आफ्नै छुट्टै भ्याक्सिन पनि विकास गरिरहेको छ। बायोलोजिकलको आफ्नै र जोन्सन एन्ड जोन्सनको भ्याक्सिन उत्पादन सुरु भएपछि भारतमा भ्याक्सिन आपूर्तिमा सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
'दुवै भ्याक्सिन (कम्पनी आफैँले विकास गरेको र जोन्सन एन्ड जोन्सनको) उत्पादनका लागि पूर्वाधार र प्लान्ट पूर्ण रूपमा छुट्टै हुनेछन्,' बायोलोजिकल ईकी महिमा डाल्टाले रोयटर्ससँग भनेकी छन्। तर उनले विस्तृत विवरण भने खुलाउन चाहिनन्।
जोन्सन एन्ड जोन्सन कम्पनीले पनि बायोलोजिकल ईसँग भ्याक्सिन उत्पादनका लागि सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
'विश्वभर भ्याक्सिन आपूर्ति गर्ने काममा बायोलोजिकल ईले महत्त्वपूर्ण भूमिका खेल्ने छ। विभिन्न देश तथा क्षेत्रमा हाम्रो भ्याक्सिन उत्पादनका लागि काम भइरहेको छ,' जोन्सन एन्ड जोन्सन कम्पनीका लागि भारतीय प्रतिनिधिले उल्लेख गरेको भन्दै द हिन्दू बिजनेसलाइनले समाचार प्रकाशन गरेको छ।
भारतको हैदरावादस्थित कम्पनी बायोलोजिकल ईले आगामी अगस्ट महिनादेखि मासिक रूपमा ८ करोड डोजसम्म भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ।