शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिमेन्ट उत्पादन क्षमताको आधामात्र, विदेशी लगानी थप्न राष्ट्र बैंकको सुझाव

सिमेन्ट उत्पादन क्षमताको आधामात्र, विदेशी लगानी थप्न राष्ट्र बैंकको सुझाव

नेपालमा स्थापना भएका सिमेन्ट उद्योगहरुले क्षमताको जम्मा ४९.९३ प्रतिशतमात्र उत्पादन गरिरहेको एक अध्ययनले देखाएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नेपालमा स्थापना भएका सिमेन्ट उद्योगहरुले क्षमताको जम्मा ४९.९३ प्रतिशतमात्र उत्पादन गरिरहेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरी सो तथ्य बाहिर ल्याएको हो। 

अध्ययन प्रतिवेदन अनुसार नेपालमा भएका सिमेन्ट उद्योगहरुले वार्षिक एक करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्न सक्छन्। तर हालसम्म ती कम्पनीहरुले जम्मा क्षमताको ४९.९३ प्रतिशत अर्थात् ७४ लाख ९० हजार मेट्रिक टनमात्र उत्पादन गरिरहेका छन्। 

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले ७ वटा उद्योगहरुमा गरेको नमुना सर्वेक्षण अनुसार नेपालमा वार्षिक ९० लाख ५० हजार टन सिमेन्ट खपत हुने गरेको छ भने वार्षिक १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ। 

रिपोर्टअनुसार हाल नेपालमा ५५ सिमेन्ट उद्योगहरु सन्चालनमा रहेका छन्। तीमध्ये ३ प्रत्यक्ष विदेशी लगानी (हुवासिन सिवम् सिमेन्ट प्रा.लि, अर्घाखाँची सिमेन्ट, मारुती सिमेन्ट) दुई सरकारी लगानीको (हेटौंडा र उदयपुर सिमेन्ट) र ५० वटा निजी क्षेत्रबाट सन्चालित सिमेन्ट उद्योगहरु रहेका छन्। 

नेपालमा ५६ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीका तीनवटा कम्पनीहरु खुलेका छन् भने १ खर्ब २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

हाल नेपालमा लगानी र उत्पादन क्षमताका आधारमा हेर्ने हो भने मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको छ। प्रतिवेदन अनुसार विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता २ हजार ७८३ टन प्रतिदिन रहेको छ भने सरकारी लगानीका कम्पनीको ८२० र निजी लगानी भएका सिमेन्ट कम्पनीको ६२२ मेट्रिक टन  प्रतिदिन उत्पादन क्षमता रहेको छ।

‘सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको छ। विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ,’ अध्ययनले देखाएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठका अनुसार मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ। स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ। 

‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। 

त्यस्तै सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन्। उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरु परेको भए पनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर पनि परेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको सो प्रतिवेदनको सुझाव रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: May 21, 2021| 11:20 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्