काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जान लागेकोप्रति टिप्पणी न्याय प्रभावित पार्न मोर्चा कसिएको बताएका छन्।
ओलीले यस्तो मोर्चाबन्दीले न्याय प्रभावित पार्न खोज्नुको कुनै अर्थसमेत नभएको बताए। बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब मोर्चा कसेर मुद्दा हाल्ने रे। एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाइ, सच्चाइ नै हो। न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन। न्यायलाई त्यसरी प्रभावित पार्न खोज्नु हुँदैन।’
संविधानको धारा ७६ (५) बमोजिम आफूहरूको दावीलाई अस्वीकार गरेको भन्दै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत अदालतमा जाने तयारी गरिरहेका छन्। ओलीले आफूलाई पहिले विश्वासको मत पाइन्छ भन्ने नलागे पनि तत्कालै घटनाक्रममा परिवर्तन आएपछि प्रधानमन्त्रीको दावी गरेको बताए। ‘मैले अगाडि विश्वास गरेको थिइनँ कि विश्वासको मत पाउँछु भन्ने ।तर, कहिलेकाहीँ राजीनामा चाँडै परिवर्तन हुन्छ। परिस्थितिमा तत्कालै परिवर्तन हुन्छ। त्यसै भएपछि मैले हाम्रो १२१ र जसपाको ३२ गरेर १५३ को दावी गरेको हुँ।’
वैकल्पिक सरकार बन्न नदिन विपक्षीले फर्जी हस्ताक्षर बुझाएको दाबी गर्दै उनले यही कारण राष्ट्रपतिमा अलमल भएको बताए। ‘वैकल्पिक सरकार बन्न नदिन उहाँहरूले फर्जी हस्ताक्षरसहितको दूषित कागज राष्ट्रपतिकहाँ पेस गर्नुभयो। दुवैतिर एउटै मान्छेको हस्ताक्षर पुगेपछि राष्ट्रपतिलाई अलमल भयो।’
ओलीले संविधानको धारा ७६ (५) मा संसदका कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दावी गर्न मिल्ने भए पनि त्यहाँ दलीय अनुशासन लागू नहुने भन्ने कुरा गलत भएको बताए।