काठमाडौं - कोभिड-१९ को पहिलो लहर फैलिँदै गर्दा ज्वरो नाप्ने यन्त्र ‘थर्मल गन’ले निकै चर्चा पायो।
१००.४ डिग्री फरेन्हाइटभन्दा बढी शरीरको तापक्रम पुग्ने गरी ज्वरो आएमा कोभिड–१९ भएको हुन सक्ने औंल्याइएपछि प्रायः कार्यालयहरूमा थर्मल गनको प्रयोग बढ्न थाल्यो।
योेसँगै नेपालमा थर्मल गनको आयात पनि बढ्न थाल्यो। त्यतिबेला भन्सार विभागले थर्मल गन कति आयात भयो भन्ने तथ्यांकसमेत अलगै राख्न थालिसकेका थिए।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल एक लाख ६३ हजार ३८७ प्याकेट थर्मल गन आयात भएको छ।
उक्त थर्मल गन आयातका लागि चार करोड २६ लाख ५८ हजार रूपैयाँ बाहिरिएको छ। नेपाल बजारमा थर्मल गनमा चिनियाँ वर्चश्व रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ वैशाखसम्म कुल एक लाख ८ हजार ४२० थर्मल गनका प्याकेट चीनबाटै आयात भएका छन्।
त्यस्तै भारतबाट ५४ हजार ६६० प्याकेट थर्मल गन आयात भएको भन्सार विभागको तथ्यांक छ।
भन्सार विभागका अनुसार अष्टे«लियाबाट एक प्याकेट, डेनमार्कबाट १५, फ्रान्सबाट ६० प्याकेट, जर्मनबाट ११ प्याकेट थर्मल गन आयात भएका छन्।
त्यस्तै इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सीको, नेदरल्याण्ड्स, चीनको ताइवान प्रान्त, बेलायत र अमेरिकाबाट पनि थर्मल गन आयात भएका भन्सार विभागको तथ्यांक छ।
पछिल्लो समय कोभिड–१९ को दोस्रो लहर बढेसँगै नेपाली बजारमा अक्सिमिटरको बजारमा पनि चिनियाँले नै लिएको छ।
नेपाली बजारमा प्राय चिनियाँ अक्सिमिटर रहे पनि भन्सार विभागले भने अक्सिमिटर आयातको छुट्टै गणना गरेको छैन। विभागका भन्सार अधिकृत मोहन पुडाशैनीले अक्सिमिटर आयातको छुट्टै गणना नगरिएको हुनाले कति रकमको आयात भयो? कहाँ कहाँबाट आयात भयो? भन्ने छुट्टयाउन नसकिएको बताए।