कैलाली- कार र मोटरसाइकल चोरीको आरोपमा कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय मोटरसाइकल र दाङका भरत केसीको कार चोरीको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
उनीहरूले मन्त्रालयको सु प प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल र जेठ ४ गते राति घर अगाडि पार्किङ गरी राखेको दाङ लमही नगरपालिका-५ बस्ने विजय केसीको भे.१ त १५२६ नम्बरको बोलेरोसमेत चोरी गरेको आरोप छ। धनगढी उपमहानगरपालिका-८ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा सोमबार प्रहरीले बरामद गरेको छ। मन्त्रालयको मोटरसाइकल बर्दियाबाट बरामद भएको छ।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-५ घर भएका १६ वर्षीय किशोर रहेका छन्।
मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाइकल चोरी भएको थियो। प्रहरीले मगरलाई चोरी भएको मोटरसाइकलसहित बर्दियाबाट पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा किशोरको समेत संलग्नता रहेको खुलेपश्चात किशोरलाई उनकै डेराबाट पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा १६ वर्षीय किशोर २०७६ वैशाख २ गते काठमाडौं महानगरपालिका-४ चप्पलकारखाना बस्ने रमन रेग्मीको बा. ७१ प ७६३८ नम्बरको मोटरसाइकल, २०७६ साउन ४ गते दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित जिबेश नाथ योगीको रा.३ प ९३४९ नम्बरको मोटरसाइकल र २०७६ भदौ १० गते दाङ घोराही उपमहानगरपालिका नारायणपुर बस्ने राम बहादुर खत्रीको लु १ च २६०३ नम्बरको कार चोरीमा पनि संलग्न थिए।
यसका साथै साथै २०७७ जेठ ३ गते कैलाली धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित राजेन्द्र बहादुर मल्लको बा ८ च २१०० नम्बरको कार र २०७७ जेठ ७ गते धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित डा रवीन्द्र भट्टको बा.१४ च ४७८१ नम्बरको कार चोरी घटनामा समेत ती किशोर पक्राउ परी दुवै मुद्दामा जिल्ला अदालत कैलालीबाट १ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भई बाल सुधारगृह डोटीमा सजाय भुक्तान गरी छुटेको खुल्न आएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।