वीरगञ्ज- जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी प्रल्हाद कार्कीले मेडिकल पसलभित्रै गएर मेडिकलका कर्मचारीलाई कुटपिट गरेका छन्। वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपी कार्कीले पसलभित्रै गएर निर्घात कुटपिट गरेका हुन्।
प्रहरीको भिडियो किन खिचेको भन्दै डिएसपी कार्कीले महमदमाथि लात्ती र लौरोले कुटेको भिडियोसमेत सार्वजनिक भएको छ।
मेडिकलका कर्मचारी महमदमाथि अमानवीय तरिकाले कुटपिट गरेपछि डिएसपी कार्कीले उनको मोबाइल पनि खोसेर लगेका छन्। 'प्लिज सर मोबाइल दिनू' भन्दै महमदले आग्रह गरेपनि उनले मोबाइल दिएका छैनन्।
सिसिटिभी भिडियो फुटेजमा बुधबारको मिति देखिएको छ।