बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कारभित्र तीन बालकको मृत्यु निस्सासिएर : भिसेरा रिपोर्ट

कारभित्र तीन बालकको मृत्यु निस्सासिएर : भिसेरा रिपोर्ट

दाङमा केही समयअघि कारभित्र तीन जना बालकको शव भेटिएको घटनाका विषयमा अनुसन्धान टुंग्याइएको प्रहरीले बताएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- दाङमा केही समयअघि कारभित्र तीन जना बालकको शव भेटिएको घटनाका विषयमा अनुसन्धान टुंग्याइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती बालकको मृत्यु निसासिएर भएको भिसेरा रिपोर्टले देखाउँछ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अक्सिजन अभाव र कार्वन मोनोअक्साइडले गर्दा निसासिएर उनीहरूको मृत्यु भएको रिपोर्टमा उल्लेख छ। अक्सिजनको अभावले मस्तिष्कले काम गर्न छोड्छ र मानिसको मृत्यु हुन्छ।

प्रहरीले घटनाबारे अनुसन्धान सकेर अदालतमा मिसिल बुझाएको छ। 

भिसेरा रिपोर्टले निस्सासिएर मृत्यु भएको देखाएको र पोस्टमार्टम रिपोर्टमा कतै चोटपटक नलागेको उल्लेख भएको प्रहरीको भनाइ छ। बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट देखिएको प्रहरी बताउँछ। ती बालकका अभिभावकसँग कसैको पनि दुश्मनी नदेखिएको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीले कुकुर झिकाएर पनि घटनाबारे अनुसन्धान गरेको थियो। शव गलिसकेको अवस्थामा फेला परेकोले भिसेराका लागि भने काठमाडौं पठाइएको थियो।

शव फेला परेको भोलिपल्ट वैशाख १९ मा प्रहरीले कार धनी तुलसीपुर ६ का ३३ वर्षीय यादवप्रसाद गैरे र सोही ठाउँका ५७ वर्षीय कार चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरी लापरवाही शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो।

चालक र कार धनीले गत माघ १ गतेदेखि नै उक्त कार लक गरेर पार्किङमा राखेकोले घटनाबारे केही थाहा नभएको बयान दिएका थिए।

बालकका अभिभावकले भने सामूहिक हत्या भएको हुन सक्ने दाबी गरेका थिए भने दोषी पत्ता लगाउन अडान राखेका थिए। उनीहरूले गत वैशाख ३१ गतेमात्रै बालकको शव बुझेका थिए।

किरिया खर्च २५ हजारका दरले दिने र तुलसीपुर नगरपालिकाबाट थप एक एक लाख दिने, पीडित परिवारलाई रोजगारीको व्यवस्था गर्ने, राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकका परिवारलाई ५ लाख राहत माग गर्नेलगायत सहमति त्यसबेला भएको थियो।
प्रहरीले कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको छ।

उक्त भारतीय कार मेडिकल सञ्चालकको हो। उनले घर आउनका लागि त्यो कार तुलसीपुर ल्याएका थिए। उनी त्यसअघि पनि नेपाल–भारत आउजाउ गरिरहन्थे।

गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो।

उनीहरू ९ वर्षीय सन्दीप परियार, ७ वर्षीय सुवर्ण परियार र ६ वर्षीय करण परियार थिए। कार धनीका अनुसार त्यो कार गत माघ १ गतेदेखि पार्किङ गरेर राखिएको थियो। 

प्रकाशित: May 27, 2021| 04:14 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।