जनकपुरधाम - जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित मन्दिरको ढोकाको ताल्चा तोडेर चोरी भएको हो।
राति अविरल वर्षा भइरहेको र पूजारीहरू निद्रामा रहेका बेला चोरहरूले मन्दिरमा रहेको प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार मन्दिरमा रहेको भगवान् शिवको मूर्ति तथा भगवान विष्णुको चतुर्भूज मूर्ति चोरी भएको छ। भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडि मात्रै खेतमा खेतालाहरूले जोतिरहेका समयमा भेटिएको थियो। ती मूर्तिहरू प्राचीन रहेको बताइएको छ।
यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रूपैयाँसमेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। यद्यपि चोरहरू फेला नपरेको र अनुसन्धान भइरहेको उनले बताए।
केही दिन अगाडि मात्रै मन्दिरका महन्थले गुठी संस्थानलाई पत्र लेखेर मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए। उजुरी पश्चात गुठी संस्थानले मन्दिरको जग्गामा रहेको घर तथा टहराहरू खाली गर्न लगाएको थियो। त्यसको केही दिन नबित्दै मन्दिरमा चोरी भएको हो।