काठमाडौं- नेकपा एमालेको नेपाल-खनाल समूहले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त राजेन्द्र महतोले दिएको अभिव्यक्तिको भर्त्सना गर्दै त्यसको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनुपर्ने निष्कर्ष निकालेको छ। महतोले शुक्रबार राति उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पार्टीको एजेन्डा रहेकाे बताएका थिए।
भर्चुअल माध्यमबाट आज बसेको स्थायी कमिटीको बैठकले महतो भनाइको कडा शब्दमा भर्त्सना गर्दै महतोले राजीनामा दिनुपर्ने माग गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। उनले भनिन्, 'महतोको भनाइ निकै गम्भीर रहेको भन्दै यसको जवाफदेही प्रधानमन्त्री ओलीले दिनुपर्ने निष्कर्ष बैठककाे रह्याे।'
बैठकले महतोको भनाइ तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ। त्यस्तै, बजेटमा ढुंगा, गिटी, बालुवा आदि सामग्री निर्यात गरेर व्यापारघाटा कटौती गर्ने सरकारको नीतिलाई पनि राष्ट्रघात ठहर गर्दै आलोचना गरेको छ। यसअघि शनिबारै एमालेका अर्का नेता वामदेव गाैतम र योगेश भट्टराईले महतोकाे अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका थिए।
पदभार ग्रहण समाराेहमा उपप्रधानमन्त्री महताेले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पार्टीको एजेन्डा छ।’ वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिका सवाल अगाडि बढाइने पनि उनकाे भनाइ थियाे। उनले दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको छ।