काठमाडौं। पछिल्लो दुई हप्ताको अवधिमा देशका प्रमुख दुई सहर काठमाडौं र पोखरामा विस्फोटको घटना भए। गत माघ २३ गते काठमाडौंको कमलपोखरी नजिक रहेको शान्दार मःम खाजा घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। यसको १० दिनपछि अर्थात हिजो शनिबार पोखरामा बेलुनको झुप्पा विस्फोट भयो।
शान्दार मःम पसलमा भएको ग्यास सिलिण्डरको विष्फोटमा परी ११ जना घाइते भएका थिए। जसमा उपचारको क्रममा चार जनाले ज्यान गुमाएका छन्। बाँकी ७ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालले दिएको जानकारीअनुसार उनीहरुको शरीरमा २० देखि ४० प्रतिशतसम्म जलन भएको छ। उनीहरूको उपचारमा कुनै कसुर बाँकी नराखेको अस्पतालले भनाइ छ।
सोही अस्पतालमा हाइड्रोजन भरिएको बेलुन विष्फोट हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको उपचार भइरहेको छ।
शनिबार एक कार्यक्रमका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’को उद्घाटन समारोहमा सहभागी भएका उनीहरु बेलुन विष्फोट हुँदा घाइते भएका थिए। उनीहरूलाई तत्काल पोखरामा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरूको उपचारमा राज्यले कुनै कसुर बाँकी राखेको छैन।
मन्त्री पौडेल र मेयर आचार्यको उपचारमा खटिएका डा. विशाल कार्कीका अनुसार उनीहरूको शरीरमा करिब ५ प्रतिशत मात्रै जलन भएको छ। उनीहरू दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
‘उहाँहरूको दुवै जनाको अवस्था ठिकै छ। बल्ड प्रेसर, मुटुको चाल राम्रो छ। अनुहारमा केही पानीको पोका छ। दुई चार दिनमा ठिक हुनुहुन्छ,’ डा. कार्कीले भने।
यसैबीच, अस्पतालले बेलुन विष्फोटमा घाइते भएका मन्त्री र मेयरलाई भेटघाट गर्न बन्द गरेको छ। स्वास्थ्य अवस्था सामान्य भए पनि संक्रमण हुने भन्दै भेटघाट बन्द गराएको हो।
विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ, ‘हाललाई अवस्था सामान्य भएता पनि संक्रमण हुने भएको हुँदा हाललाई अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको छ।’
यसअघि, राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भेट्न पुगेका थिए। राष्ट्रपति आइतबार बिहान अस्पताल पुगेका थिए भने मन्त्री शनिबार साँझ भेट्न पुगेका थिए।
बर्न अस्पताल पुगेका राष्ट्रपतिले के गरे?
राष्ट्रपति पौडेल आइतबार बिहानै कीर्तिपुरस्थित बर्न अस्पताल पुगे। बेलुन विष्फोटमा जलन भएका मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत स्वागत गरेका थिए। यस क्रममा राष्ट्रपति पौडेललाई डा. नकर्मीले मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य भए पनि केही समय चिकित्सकको निगरानीमा राख्नुपर्ने बताएका थिए।
बेलुन विष्फोटमा घाइते भएका राष्ट्रपति पौडेलले मन्त्री र मेयरबाहेक अरु विरामीलाई भने भेटेनन्। राष्ट्रपति कार्यालयका अनुसार अरु विरामीको बारेमा जानकारी नभएकाले उनले अरू विरामी नभेटेका हुन्।
‘उहाँले मन्त्री र मेयरको स्वास्थ्य अवस्थाबारे बुझ्नु भयो। अरू केही गर्नु भएन,’ शान्दार मःमको ग्यास विष्फोटका घाइतेलाई भेट्नु भएन? भन्ने क्यापिटल नेपालको प्रश्न राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘अरु विरामीबारे उहाँ (राष्ट्रपति)लाई जानकारी नभएको हुन सक्छ। त्यसैले कसैलाई भेट्नु भएन।’
यसअघि शनिबार साँझ मन्त्री र मेयरलाई भेट्न गएका स्वास्थ्य मन्त्री पौडेलले अरू बिरामीको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएका थिए।
यस्तै, शनिबार नै गृहमन्त्री रमेश लेखक पनि जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत मन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए।
जनताले पाउँदैनन् एम्बुलेन्स
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको जलनको घटना बढेको बताइन्। आकस्मिक समयमा बोल्दै उनले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यलाभको कामना गरिन्। तर, जनताले आगलागी पीडित हुँदा एम्बुलेन्ससम्म पाउन नसकेको बताइन्।
कंसाकारले काठमाडौंकै शानदार मःम सेन्टरमा आगलागी हुँदा पीडितको उद्धारका लागि एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको स्मरण गरिन्।
‘अस्ति भर्खर शान्दार मःममा ग्याँस विस्फोट हुँदा सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। आज मन्त्री ज्यु र मेयर ज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन्।
बैठकमा सहभागी भएका अन्य सांसदहरूले पनि जलनको उचारमा सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए।
यता, गृहमन्त्री रमेश लेखकले पोखराको घटनाबारे छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेका छन्। समितिले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ।
यी हुन् सिलिण्डर विष्फोटका मृतक
शान्दार मःम खाजा घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। बर्न अस्पतालमा उपचारत काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो।
जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो। ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको हो। हाल ७ जनाको उपचार भइरहेको छ,’ उनले भने।
यसअघि उदयपुरको उदयपुरगढी ७ घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो।