काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा आज साँझ आएको बाढीमा परी जनधनको क्षति भएको आँकलन गरिएको छ। मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा मंगलबार साँझ पहिरो जाँदा खोला थुनिएर बाढी आएको स्थानीय बासिन्दाले बताए।
स्थानीयवासीले दिएको जानकारी अनुसार नाकोटेमा झण्डै तीन घण्टा खोला थुनिएको थियो।
बाढीले चनौटे बजारको धेरै भाग बगाएको छ भने मेलम्ची फनपार्कमा नजिकको समुदायमा खोला पस्नाले स्थानीय बासिन्दा खोलाको बीचमा फसेका छन्। बाढीमा कतिय मानिस बेपत्ता भएको अनुमान गरिए पनि रातिकाे समय भएकाले विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार तिम्बुदेखि चनौटेसम्मका बस्ती छेउछाउका माछा पालन व्यवसाय सबै बाढीले बगाएको छ। मेलम्ची बजारदेखि दोलालघाटसम्म पानीको सतह निकै बढेको छ भने खोलाले प्रशस्त मात्रामा काठ बगाएर ल्याएकाे तटवर्ती क्षेत्रका बासिन्दाले बताएका छन्।
बाढीले तटवर्ती क्षेत्रका तिम्बु, चनौटे, तालामाराङ क्षेत्रमा पनि क्षति भएको प्रहरीको अनुमान छ। साँझ ६ बजेपछि बाढी आएकाले के कति क्षति भएको भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि यकिन हुन नसकोको स्थानीयले बताएका छन्। इन्द्रावती हाइड्राेपावरमा पनि क्षति भएकाे अनुमान गरिएकाे छ।