सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देउवा–निधि आमुन्ने-सामुन्ने! यी हुन् कांग्रेस सभापतिका आकांक्षी

देउवा–निधि आमुन्ने-सामुन्ने! यी हुन् कांग्रेस सभापतिका आकांक्षी

युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।
 |  आइतबार, असार ६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, असार ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित छलफललाई तिव्रता दिएसँगै कांग्रेसमा चुवावी माहोल तातिएको छ। देउवाले दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिने रणनीतिका साथ तयारीलाई तीव्रता दिँदै छलफल सुरु गरेपछि १४औं महाधिवेशनले कांग्रेसी नेताहरूलाई सक्रिय बनाएको हो।

सभापति देउवाले महाधिवेशनको तयारी स्वरुप सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई निवासमै बोलाएर सुझाव लिने भएका छन्। आइतबार मात्रै बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूलाई आफ्नै निवास बोलाएर देउवाले छलफल गरेका थिए।

संस्थापन इतर समूहबाट करिब १० जनाले सभापति पदमा अकांक्षा देखाएका छन्।  

यसअघि शनिबार प्रदेश १ र २ का आफूनिकट नेताहरूसँग बूढानीलकण्ठमा छलफल गरेका देउवाले भन्ने गरेका छन्, 'म पुनः सभापति लड्छु, सहयोग गर्नुहोला।' छलफलका क्रममा उनले आफुलाई सहयोग मात्र मागेका छैनन्, आफ्ना पक्षका बढी भन्दा बढी महाधिवेशन प्रतिनिधि जिताएर पठाउन निर्देशनसमेत दिएका छन्। 

संस्थापन पक्षबाट देउवाको दोहोरिने तयारी त छँदैछ। त्योबाहेक १३औं महाधिवेशनमा सघाएका उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा लड्ने तयारी गरेका छन्। यस्तै संस्थापन इतर समूहबाट करिब १० जनाले सभापति पदमा अकांक्षा देखाएका छन्।  

आमुन्नेसामुन्ने निरन्तरका सहयात्री
विमलेन्द्र निधिले देउवाको राजनीतिक यात्रामा लामो समयदेखि साथ दिँदै आएका छन्। कांग्रेसमा कोइरालाहरूविरुद्धको संघर्ष गर्दा होस् वा पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा नै किन नहोस्, निधिले देउवाको साथ छोडेका थिएनन्। 

अप्ठ्यारो अवस्थामा पनि साथ नछोडेका निधिले १३औं महाधिवेशनमा देउवालाई सभापति जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। सभापति निर्वाचित भएपछि देउवाले निधिलाई पार्टीको उपसभापतिमा मनोनित गरे।  

लामो राजनीतिक यात्रामा सँगसँगै हिडेका निधि र देउवा १४औं महाधिवेशनमा प्रतिस्पर्धी बन्लान्? कांग्रेसवृत्तमा यो चासोको विषय बनेको छ। 

शनिबारको छलफलमा देउवा र निधिबीचको सवालजवाफ सुनेका एक नेता भन्छन्, ‘सभापतिजी र विमल दाइ एकअर्काको प्रतिस्पर्धी हुने सम्भावना बलियो देखिएको छ।’ 

शनिबारको छलफलका क्रममा सभापति देउवा र उपसभापति निधिबीच भएको सवालजवाफ विश्लेषण गर्दा सभापतिको उम्मेदवारबाट पछि हट्ने पक्षमा निधि नरहेको एक सहभागीले बताएका छन्। दुवै नेताहरू एकअर्काका प्रतिस्पर्धी हुने सम्भावना बलियो देखिएको देउवा निकटकै ती नेताको टिप्पणी छ। 

शनिबार देउवाले आफू सभापतिमा लड्ने र प्रतिनिधि प्रदेश २ बाट धेरै प्रतिनिधि ल्याउन निधिलाई आग्रह गरेका थिए। तर, निधिले आफू पनि सभापतिमा लड्ने जवाफ फर्काएका थिए। 

देउवा र निधि।

‘तपाईंलाई प्रधानमन्त्री हुने अवसर छँदैछ। आगामी निर्वाचनपछि पनि तपाईं प्रधानमन्त्रीका लागि तयारी गर्नुस्। म सभापतिमा लड्छु,’ निधिले भनेका थिए। तर, निधिको प्रस्ताव स्वीकार गर्न देउवा तयार छैनन्। उनले निधिको कुरालाई ठाडै अस्वीकार गर्दै भनेका थिए, ‘सभापति लड्ने अधिकार तपाईंको पनि छ। लड्नुस् न!’

शनिबारको छलफलमा देउवा र निधिबीचको सवालजवाफ सुनेका एक नेता भन्छन्, ‘सभापतिजी र विमल दाइ एकअर्काको प्रतिस्पर्धी हुने सम्भावना बलियो देखिएको छ।’ 

निधिले यसअघि पनि देउवालाई आफू सभापतिमा लड्ने जानकारी गराएका थिए। सार्वजनिक रूपमै निधिले सभापतिमा लड्ने आकांक्षा प्रकट गर्दै आएका थिए। देउवा निकट नेताहरुका अनुसार पहिलो चरणमा देउवा र निधि एकअर्काको प्रतिस्पर्धी हुने सम्भावना धेरै छ। तर, दोस्रो चरणमा भने निधिले देउवालाई समर्थन गर्ने अपेक्षा देउवाले गरेका छन्।  

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ। संस्थापनबाहेकको समूहबाट धेरै अकांक्षी रहेको अवस्थामा देउवा समूहबाट पनि दुई अकांक्षी हुँदा ५१ प्रतिशत मत ल्याउने सम्भावना कम रहन्छ। १३औं महाधिवेशन देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति पदमा निर्वाचन लडेका थिए। पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा देउवा र पौडेल मात्रै प्रतिस्पर्धामा थिए। सिटौलाको सहयोगमा देउवाले दोस्रो चरणमा सभापति जितेका थिए।

मोहनबहादुर बस्नेतलगायतका नेताहरुले देउवालाई भनेका थिए, ‘निधिले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेको कुरा बाहिर आएको छ। उहाँलाई जसरी भए पनि मिलाउनु पर्छ। कसरी मिलाउने त्योबारे सोच्नुस्।’

१४औं महाधिवेशनमा पनि यस्तै हुन सक्ने आकलन देउवा निकट नेताहरूको छ। ‘सभापतिजी र विमल दाइ दुवैले सभापतिमा लड्ने भन्नु भएको छ। विमल दाइको दावी अस्वभाविक होइन। उपसभापति, उपप्रधानमन्त्री बनिसक्नु भएको मान्छेले सभापति दावी गर्नु अनौठो होइन,’ देउवा निकट एक नेताले भने, ‘दुवै जना उठ्नुभयो भने उहाँहरू पहिले एकअर्काका प्रतिस्पर्धीरुपमा मैदानमा उत्रनुहुन्छ। तर, दोस्रो चरणमा भने शेरबहादुर दाइलाई विमल दाइको समर्थन रहन्छ। यसमा हामी ढुक्क छौं।’

संस्थापन बाहेकको समूहबाट धेरै जनाले आकांक्षा राखेको बेला संस्थापन समूहबाट एक जनाले मात्रै आकांक्षा राख्नुपर्छ भन्ने नभएको ती नेताको भनाइ छ। ‘दुई जना उम्मेदवार हुँदा पनि हाम्रो समूह कमजोर हुँदैन। विमल दाइ उठ्दा हाम्रो समूहमा पनि नेतृत्व गर्ने वैकल्पिक नेता छन् भन्ने देखिन्छ, त्यसका लागि प्रयास पनि हुन्छ,’ उनले सुनाए, ‘यो लोकतान्त्रिक पार्टी हो, त्यसैले विमल दाइको दावीलाई अस्वभाविक रूपमा लिन हुँदैन। तर, विमल दाइ लड्दै गर्दा समूहमा भ्वाङ पार्ने काम भने गर्नु हुँदैन।’

देउवा निकट नेता मीन विश्वकर्मा भने संस्थापन समूहबाट एक जना मात्रै उम्मेदवार तय गर्ने प्रयास गरिने बताउँछन्। ‘दुवै जनाले लड्ने भन्नुभएको छ। हामी एक जना मात्रै उम्मेदवार बनाउने प्रयास अन्तिसम्म पनि गर्नेछौं। शेरबहादुर दाइको सहयोग विमल दाइलाई पनि चाहिन्छ, विमल दाइलाई शेरबहादुर दाइको पनि सहयोग चाहिन्छ,’ उनले भने, ‘विमल दाइको दावीलाई अस्वभाविक मान्नुहुँदैन। हाम्रो प्रयास सर्वसम्मत उम्मेदवार चयनमै हुनेछ।’

यद्यपि देउवालाई नेताहरूले निधिलाई मिलाउन आग्रह गरिरहेका छन्। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले निधिलाई कुनै पनि हालतमा मिलाउन देउवालाई आग्रह गरेका थिए। केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताहरुले देउवालाई भनेका थिए, ‘निधिले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेको कुरा बाहिर आएको छ। उहाँलाई जसरी भए पनि मिलाउनु पर्छ। कसरी मिलाउने त्योबारे सोच्नुस्।’

इतर समूहबाट को?  
संस्थापन पक्षबाट दुई जना सभापति पदका आकांक्षी भएपनि संस्थापन समूहमा त्योभन्दा बढी आकांक्षी छन्। देउवालाई पार्टी नेतृत्वबाट हटाउनुपर्नेमा इतर समूह एकमत भएपनि उसले सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्न संभावना कम छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पुनः एकपटक सभापति लड्न चाहन्छन्। त्यसका लागि उनले अनामनगरमा सम्पर्क कार्यालय खोलेर तयारी अघि बढाएका छन्।

पौडेल निवासमा देउवा र निधि। फाइल तस्बिर

यस्तै डा रामशरण महत, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीसमेत सभापतिका आकांक्षी देखिएका छन्। यद्यपि, देउवाले आइतबार बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा सिटौला निकटका नेताहरुले सिटौलालाई कार्यवाहक सभापति बनाए सभापति लड्न सहयोग गर्ने बताएका छन्। सिटौला निकट नेता भीमसेनदास प्रधानले देउवालाई भनेका थिए, ‘सिटौलालाई कार्यवाहक सभापति दिनुस्, यसो गर्दा तपाईले दोस्रो राउन्डमा जित्ने सम्भावना रहन्छ। नत्र तपाईंले जित्नुहुन्न।’

युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।

महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सार्वजनिक रूपमै सभापति लड्ने बताइसकेका छन्। शेखर कोइरालाले देश दौडाह गरेर सभापतिका लागि यसअघि नै तयारी तीव्र बनाएका थिए। कोइराला परिवारबाटै सुजाता कोइरालाले समेत सभापतिमा आकांक्षा देखाएकी छन्।  

यस्तै युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्। देउवाको विकल्प खोज्ने र १४औं महाधिवेशनबाट पार्टी नेतृत्व फिर्ता ल्याउने अभियानमा रहेको संस्थापनबाहेकको समूहले सर्वसम्मतरुपमा साझा उम्मेदवार चयन गर्ने सम्भावना छ त? इतर समूहका नेताहरुको जवाफ छ- त्यो सम्भावना न्यून देखिन्छ। 

‘नेतृत्वमा विकल्प खोजौं भन्नेमा हामी एक छौं। तर, देउवाका प्रतिस्पर्धीका रूपमा एक जना मात्रै उम्मेदवार हुने सम्भावना देखिएको छैन,’ नेता प्रदीप पौडेलले भने, ‘यदि हामीले साझा उम्मेदवार चयन गर्न सकेनौं भने पार्टी नेतृत्व शेरबहादुर दाइकै हातमा जान्छ। हामी अन्तिमसम्म साझा उम्मेदावरको खोजी गर्ने प्रयास गर्नेछौं।’

संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गर्ने हो भने केही नेता 'ब्याक' हुने सम्भावनासमेत छ। नेता अर्जुननरसिंह केसीले साझा उम्मेदवार चयन गर्ने कष्टमा आफू 'ब्याक' हुन तयार रहेको बताउँछन्। ‘म महामन्त्रीमा उम्मेदवारी दिन्नँ। पार्टीभित्र सुधारवादी आन्दोलनको गति अघि बढाउन कस्सिएका साथीहरूबीच एकता भयो र एक जना मात्रै साझा उम्मेदवार बन्ने अवस्था आएमा म जेमा पनि बस्न तयार छु,’ उनी भन्छन्, ‘आफू-आफू लड्ने हो भने र सुधारवादी आन्दोलनका पक्षधरहरूबीच एकभन्दा बढी उम्मेदवार भए भने सभापतिको तेस्रो उम्मेदवार मै हुँ।’ 

प्रकाशित: Jun 20, 2021| 12:54 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।