काठमाडौं- गत वर्ष असारदेखि बन्द गरेको पाम आयलको आयात भारतले खुला गरेको छ।
भारतको वाणिज्य विभागले सूचना प्रकाशित गर्दै पाम आयल आयातमा एक वर्षदेखि रहेको प्रतिबन्ध खुला गरेको हो।
सूचनामा एचएस कोड १५११९०१०, १७११९०२० र १५११९०३० का वस्तु आयातमा लगाइएको प्रतिबन्ध खुला गरेको उल्लेख गरिएको छ।
यससँगै नेपालबाट समेत भारतमा पाम आयल निर्यातमा सहज हुने भएको छ।
नेपाली व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर प्रशोधन गरी विभिन्न मुलुकमा निर्यात गर्ने गरेका छन्।
चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि जेठसम्म नेपालबाट भारततर्फ चार लाख ४३ हजार रूपैयाँ बराबरको तीन हजार लिटर पाम आयल निर्यात भएको छ।