धनगढी- कैलाली प्रहरीले भन्सार छली गरेर ल्याइएका दुई लाख १३ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका–१८ फुलवारीबाट भन्सार छली गरेर बेवारिस छोडिएको अवस्थामा चिनी ११ सय ५० किलो, सलाई १६ पेटी, प्लास्टिक पोलेथिन ४० किलो, सुर्ती १३ कट्टा र बिडी ३ बोरा बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
सीमा प्रहरी चौकी बहुलिया र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूहको संयुक्त प्रहरी टोलीले सामान बरामद गरेको हो। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।