मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोखरा स्पोर्टस् अवार्ड: जमुना र नवीन उत्कृष्ट, डुआना उदीयमान खेलाडी 

पोखरा स्पोर्टस् अवार्ड: जमुना र नवीन उत्कृष्ट, डुआना उदीयमान खेलाडी 

तेक्वान्दोकी राष्ट्रिय खेलाडी पार्वती गुरुङ र करातेका नवीन रसाइलीले गण्डकी प्रदेशबाट उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन्।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

पोखरा– तेक्वान्दोकी राष्ट्रिय खेलाडी पार्वती गुरुङ र करातेका नवीन रसाइलीले गण्डकी प्रदेशबाट उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन्। यसैगरी उदीयमान खेलाडीको अवार्ड पौडीकी डुआना लामाले हात पारेकी छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको समारोहमा गुरुङ्ले महिलातर्फ र रसाइलीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्। 

अवार्डको महिला मनोनयनको सूचीमा पार्वतीसँगै साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री पनि थिए। पुरुष सूचीमा भने रसाइलीसँगै फुटबलका सुमन अर्याल र टेबुलटेनिसका विनेश खनिया थिए। 

उत्कृष्टहरूले नगद दुई–दुई लाख रूपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरे। उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कृत गरे। 

यसैगरी केशव रञ्जित (आनन्द) लाई लाइफटाइम अचिभ्मेण्ट अवार्ड प्रदान गरियो। गण्डकी प्रदेश तथा देशकै फुटबलको विकासमा योगदान गरेको भन्दै उनलाई यो अवार्डं प्रदान गरिएको हो। 

समारोहमा बक्सिङका सुरेश मल्ल ठकुरीले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड हात पार्न सफल भएका छन्। उनीसँगै फुटबलका किरण श्रेष्ठ र पौडीका आनन्द कुँवर मनोनयनयमा परेका थिए। यसैगरी कास्की जिल्ला आर्चरी संघले उत्कृष्ट खेलकुद संस्थाको अवार्ड हात पार्न सफल भयो। 

अवार्ड वितरण समारोहमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले यहाँको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। उनले माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीमा फुटबल एकेडेमी र भरतपोखरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए। 

डुआना लामा (पौडी)

मनाङको निसाङ गाउँपालिका-८ स्थायी ठेगाना भएकी डुआनाको स्थायी बसोबास भने काठमाडौंमा छ। पौडी प्रशिक्षणकै सिलसिलामा हाल उनी थाइल्याण्डमा छिन्। 

नेपालमा भएको १३ औं सागमा टिम रिलेमा ३ स्वर्ण र एकलतर्फ २ रजत पदक जितेकी थिइन्। एकलतर्फ उनले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा स्वर्ण जितेकी हुन्। उनले ६ वर्षको उमेरमै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी थिइन्। 

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा उनले ६ स्वर्ण र ४ रजत जित्न सफल भइन्। ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा उनले राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्। 

पार्वती गुरुङ् (तेक्वान्दो)

लमजुङको दूधपोखरी गाउँपालिकामा जन्मिएकी पार्वती गुरुङ् दुई वर्ष अघि नेपालमा सम्पन्न १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडी हुन्। नौ वर्षको उमेरदेखि चितवन तेक्वान्दो डोजाङ्बाट खेल जीवन सुरु गरेकी गुरुङ्ले डेढ दर्जन अन्तर्राष्ट्रिय तथा उत्तिकै राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेकी छिन्। 

तेक्वान्दोको पुम्से विधाको र्‍याङ्किङमा नेपालकै नम्बर १ पार्वती नेपाली प्रहरीमा आबद्ध छिन्। 

साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कांस्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन्।

सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेशनल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन्।

यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ। उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन्।

नवीन रसाइली (कराते)

वागलुङ्को वोङ्गादोभानमा जन्मिएका नवीन रसाइली ०६३ सालदेखि करातेमा लागेका हुन्। उनले १३ औं सागको कराते अन्तर्गत ६७ केजीको व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन्। 

सुरुमा गाउँमै आयोजना भएको कराते प्रतियोगिताबाट यो खेलमा आकर्षित भए उनी। त्यही आकर्षणले करातेमा जोडिए।

गाउँमा आयोजना भएको खेलले करातेसँग जोडिने अवसर पाएका उनी त्यसपछिको कराते यात्राको बारेमा बताउँदै भन्छन्- काठमाडौं आएँ , सँगै पढ्ने साथीहरुपनि कराते खेल्न जाँदा रहेछ,  अनि साथीहरुकै खेल पोसाक लगााएँ।

यसअघि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते पनि सागमा भने उनको यो पहिलो पदक हो। 

सुरेश मल्ल ठकुरी (बक्सिङ्)

पोखरा महानगरपालिका ७ निवासी सुरेश मल्ल ठकुरीले २०४४ सालको ११ औं राष्ट्रिय खेलकुदबाट आफ्नो करियर सुरु गरेका थिए। तर उनले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स, सन् १९९१ मा उनले कांस्य पदक जिते। 

पछिल्लो पटक नेपालमा भएको सागमा उनी प्रशिक्षकको भूमिकामा देखिए। 

यस भन्दा अघि उनले सन् १९८९ मा इण्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेशनल एमेच्युर बक्सिङ टुर्नामेन्टमा अवसर पाएका थिए। त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट छानिएका ९ जना खेलाडी मध्ये उनी र प्रचण्ड शर्माले मात्र देशका लागि कास्य पदक देशका लागि भित्राए। 

अहिले उनी पोखरा रंगशालमा दैनिक करिब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका छन्। हालसम्म उनले ३ सयभन्दा बढीलाई प्रशिक्षण दिइसकेका छन्। 

कास्की जिल्ला बक्सिङ संघमार्फत् प्रशिक्षण दिने सुरेश मात्र हुन्। उनको परिचय अहिले रेफ्री जज हो। आवश्यक परेको परेको बेला रेफ्री र जज दुवै जिम्मेवारी निर्वाह गर्न मल्ल भ्याउँछन्।

केशव रञ्जित 'आनन्द'

पोखराको फुटबल खेलमा छुटाउनै नहुने एउटा नाम हो केशव रञ्जित (आनन्द)। २०३१ सालदेखि नै खेल जीवन सुरु गरेका उनले करीब डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हाले। सानैदेखि फुटबल भनेपछि हुरुक्क हुने उनले २०३१ सालदेखि २०४५ सालसम्म गण्डकी अञ्चलको कप्तान बनेका हुन्। 

आनन्दको टिमले २०३२ सालमा काठमाडौंमा भएको शुभ जन्मोत्सव कपमा स्वर्ण पदक जितेको इतिहास छ। उनकै कप्तानीमा २०३२ सालमै अन्तर–अञ्चल नर ट्रफी प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गर्‍यो। २०३५ सालमा नर ट्रफी प्रतियोगितामा संयुक्त विजेता बन्दै पहिलो ६ महिना ट्रफी राखेर सफल कप्तानको पगरी गुथे आनन्दले। उनकै कप्तानीमा २०३७ सालमा बुटवलमा भएको नर ट्रफी प्रतियोगितामा गण्डकी अञ्चलको टिम उपविजेता बन्यो।

२०३८ सालमा भने उनले महेन्द्र पुलिस क्लबबाट खेले। त्यही वर्ष उनको टिम महेन्द्र पुलिस क्लबले शुभ जन्मोत्सव कपको उपाधि चुम्यो। २०३१ सालदेखि २०४२ सालसम्म विभिन्न समयमा महेन्द्र पुलिस क्लब, न्यूरोड टिम (एनआरटी)बाट खेलेका उनले थुप्रै पदक र प्रमाणपत्र जितेका छन्। 

२०३८ सालमा नेपालको राष्ट्रिय टिममा परेका आनन्दले सो वर्ष रुस र भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। उनी समकालीन फुटबलरमा टेक्निकल गेमका लागि अब्बल दरिए। सन् २००३ मा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाइल्याण्ड भ्रमण गरे। २०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल टीमको गण्डकी प्रदेशको कप्तान भई फेयर प्ले उपाधि जिताउन सफल भए। 

खेलाडी र प्रशिक्षकमात्र होइन, उनको योगदान विभिन्न संघसंस्थामा पनि छ। २०५८ देखि ०६२ सम्म कास्की जिल्ला फुटबल संघ अध्यक्ष रहेर जिल्लाको फुटबलको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिए।

प्रकाशित: Jul 03, 2021| 01:47 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।